
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको दाबी गरेका छन् । नीति कार्यक्रममाथि आइतबार संसद्मा उठेका प्रश्नको जवाफ दिँदै ओलीले कार्यक्रम यसअघिकै जस्तै कर्मकाण्डी नभएको दाबी गरेका हुन् ।
यो सरकार काम गर्नैका लागि बन्दै भन्दै ओलीले प्रतिबद्धता मात्रै व्यक्त गर्ने तर, काम नगर्ने प्रवृत्तिलाई यसपटक छोडिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले विगतका योजनाको प्राथमिकीकरण गर्ने विषय नयाँ भएको बताए । त्यस्तै, थालेका काम सक्ने गरी वर्गीकरण गर्ने, तालिका अनुसार सम्पन्न गर्ने, आवश्यक स्रोतको व्यवस्था सम्पन्न हुने गरी बजेटको बन्ने बताएका हुन् ।
उद्योगको लागि पूँजीको प्रतिबद्धता, कानूनी सुरक्षा, उद्यमशीलता शुरू गरेदेखि बजारसम्मको चक्रको प्रतिबद्धता, सरकारका काम उद्यमशीलला, रोजगारी सिर्जना, कृषिको व्यवसायीकरणमा प्राथमिकता नीति कार्यक्रमका नवीन विषय भएको ओलीले बताए ।
विद्यार्थीलाई पढाइसँगै सरकारी सेवाको इन्टर्नसीपमा प्रवेश गराउने, हप्तामा २० घण्टा काम गरेर पढ्न सक्ने, सरकारको फजुल खर्च रोक्नेगरी कार्यक्रम आएकोसमेत ओलीले बताए ।
अनलाइनबाट सेवा प्रवाह गर्ने जस्ता कार्यक्रम उच्चस्तरीय आर्थिक सुधार आयोगसहित एक दर्जन सुझावका आधारमा आएको भन्दै ओलीले बजेट वक्तव्य आएपछि झन् धेरै विषय समेटिने बताए ।