
पछिल्लो ९ महिनामा उच्च शिक्षाका नाममा नेपालबाट १ खर्ब बढी रुपैयाँ बाहिरिएको छ ।
चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) नेपाली विद्यार्थीहरूमार्फत उच्च शिक्षा अध्ययनका नाममा १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो ।
राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण आय ९.५ प्रतिशतले वृद्धि भई ६६ अर्ब ५४ करोड पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १९.० प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ भर वैदेशिक अध्ययनका नाममा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ पनि बाहिरिएको थियो ।
नेपालबाट बर्सेनि लाखौं विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार नेपालबाट ५६ राष्ट्रमा विद्यार्थी जाने गरेका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी विद्यार्थी जापान जाने गरेका छन् । त्यसपछि यूके (बेलायत), संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।
नेपालबाट अस्ट्रेलिया, जापान, कोरिया, डेनमार्क, इजरायल, ओमान, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्याण्ड, मंगोलिया, श्रीलङ्का, इजिप्ट, रसिया, दुबई, स्पेन, सिङ्गापुर, टर्की, फ्रान्स, बङ्गलादेश, फिलिपिन्स, पाकिस्तान, पोल्याण्ड, रोमानियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि विद्यार्थीले अनुमति पत्र लिने गरेका छन् ।