२३ जेठ २०८३, शनिबार

ट्रकमा भुसमुनि लुकाएर ल्याउँदै गरेको भन्सार छलीको ७२ लाख बराबरको सामान बरामद

बैशाख २८, २०८२
काठमाडौं
ट्रकमा भुसमुनि लुकाएर ल्याउँदै गरेको भन्सार छलीको ७२ लाख बराबरको सामान बरामद

भन्सार छली गरेर चोरी पैठारी गरिएका सामानसहित भक्तपुरमा एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । 

कपडा तथा धाराको पार्टपुर्जासहितको सामान ओसारपसार गरिरहेको ट्रकलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित जगाती चेकप्वाइन्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार बिहान साढे १० बजे तिर साँगाबाट काठमाडौंतर्फ आइरहेको बा ४ ख ७६० नम्बरको सेतो रंगको टाटा कम्पनीको ट्रकमा भन्सार छलि गरिएका सामान लुकाएर ल्याइँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले चेकजाँच गर्दा परालको भुसमुनि लुकाएर ल्याइएका विभिन्न सामान फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बरामद भएका सामानमा ३८८७ थान कुर्ता सुरुवाल, ३२ रोल पाइन्टको कपडा, ३५६ थान सर्ट, २८० रोल सर्टको कपडा, १८७५ थान ब्लाउज, ९९ रोल पर्दाको कपडा, १५९ थान साडी र ३९८ थान धाराको पार्टपुर्जा रहेका छन् । जिल्ला प्रहरीका अनुसार उक्त सामानको अनुमानित मूल्य ७२ लाख रूपैयाँ बराबर रहेको छ। 

ट्रकसहित सवारी चालक दोलखा कालिन्चोक गाउँपालिका–२ का ४७ वर्षीय लक्ष्मण थामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । 


 

salt training

कमेन्ट गर्नुहोस्