
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य महाप्रसाद अधिकारीविरुद्ध प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता नवीन धितालले अधिकारी निवर्तमान गभर्नरसमेत रहेकाले सिफारिस समितिमा बस्न नमिल्ने जिकिरसहित सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
सर्वोच्च अदालत स्रोतका अनुसार रिट केही दिनअघि नै लगिएको भएपनि आइतबार दर्ता गरिएको हो । सरकारले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गरेको थियो ।
गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा अधिकारी बस्न नमिल्ने अधिवक्ता धितालको दाबी छ । पूर्वगभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि अधिकारीलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको थियो ।
रिटमा अधिकारी गैरकानूनी रूपमा गभर्नर सिफारिस समितिमा रहेकाले समितिले गरेको सिफारिस कार्यान्वयन नगर्न, सिफारिसअनुसार सरकारले निर्णय गरेको भए सो निर्णय बदर गर्न र तत्काल अन्तरिम आदेशमार्फत् समितिलाई सिफारिस गर्न रोक लगाउन माग गरिएको छ ।