
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। सो आयोजनामा एनएमबि बैंकको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।
४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनाको कुल अनुमानित लागत करिब ७ अर्ब रुपैयाँ रहेको छ। उक्त आयोजना दोलखाको विगु गाउँपालिकामा निर्माण गरिनेछ।
ऋण लगानीका लागि एनएमबि बैंकको नेतृत्वमा नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक र डायनामिक हाइड्रो इनर्जीबीच समझदारी भएको हो।
समझदारीपत्रमा एनएमबि बैंकको तर्फबाट चिफ दिनेश दुलाल र डायनामिक हाइड्रोको तर्फबाट अध्यक्ष मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन्। त्यस्तै, एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र डायनामिक हाइड्रो इनर्जीका अध्यक्ष कार्कीले ऋण सम्झौता पत्र आदान–प्रदान गरेका छन्।
एनएमबि बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, एनएमबिको एकल लगानीमा निर्माण हुने २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन भएको छ। उक्त आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रुपैयाँ रहेको छ भने एनएमबि बैंक लिमिटेडले ३४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ।