
प्रधानमन्त्री केपी शर्मा ओली आज, सोमबार लुम्बिनी आउँदैछन् । २५६९ औं बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन ओली लुम्बिनी आउन लागेका हुन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसमा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको जनाएको छ । यसका लागि लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी उनी तपस्याका लागि निस्केका थिए ।