
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जनमत पार्टीका अध्यक्ष डा। सीके (चन्द्रकान्त) राउत र निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवबीच घरजग्गा विवाद बढेको छ ।
ललितपुरको इमाडोलस्थित जग्गा तथा घर जनमतको पार्टीका लागि खरिद गरिएको राउतको दाबी छ भने उक्त घर आफ्नो निजी रहेको यादवले दाबी गर्दै आएका छन् ।
सुरेन्द्र यादवकी श्रीमती ललिता यादवले आफ्नो श्रीमानलाई गैरकानूनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनउपर दिइएको लिखित जवाफमा जनमतका प्रवक्ता शरदसिंह यादवले उक्त घरजग्गा पार्टीको रहेको दाबी गरेका छन् ।
००००
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य महाप्रसाद अधिकारीविरुद्ध प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता नवीन धितालले अधिकारी निवर्तमान गभर्नरसमेत रहेकाले सिफारिस समितिमा बस्न नमिल्ने जिकिरसहित सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
००००
गभर्नर सिफारिस समितिबाट डा विश्व पौडेलले राजीनामा दिएका छन् ।
स्रोतका अनुसार आइतबार उनले समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा दिएका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट गभर्नर बन्ने चर्चासँगै पौडेलले राजीनामा दिनुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि पूर्वराजाको संवाद सचिवालयले खण्डन गरेको छ ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजालाई निर्मल निवासमै नगरबन्द गरिएको भन्ने खबरको कुनै सत्यता नरहेको बताए ।
पछिल्लो समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बुहदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले गणतन्त्रविरुद्ध सक्रियता बढाउन खोजेको छ । राजावादी सो समूहले जेठ १५ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा आइतबार बसेको संयुक्त जनआन्दोलन समितिमा आबद्ध राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुन काठमाडौँ बाहिरका जनतालाई काठमाडौँ आउन आह्वान गर्ने निर्णय गरेको छ ।
यस्तै काठमाडौँका जनता र सबै वर्ग, पेसा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने समेत निर्णय भएको संयोजक सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच राजावादी फेरि सलबलाउन खोज्दा प्रधानमन्त्री केपी ओली आक्रामक देखिएका छन् भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ओलीलाई साथ दिएका छन् ।
००००
नेकपा एमालेका लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थीविरुद्ध एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी भएको खुलेको छ ।
मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको छ ।
सांसद पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित एमालेका सांसद हुन् । उनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा सार्वजनिक लेखा समितिका पूर्वसभापति पनि हुन् ।
००००
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।
आज किरात र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले संविधानलाई परिवर्तन नभई परिमार्जनको दस्ताबेजका रूपमा लिनुपर्ने बताए । अध्यक्ष प्रचण्डले संविधान जनताको चाहना र आवश्यकताअनुसार समयसापेक्ष संशोधन गर्नु आजको आवश्यकता रहेको बताए ।
००००
आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् ।
यही वैशाख २० गते मन्त्री पौडेलको उपस्थितिमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधालगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो ।
००००
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०८१–८२ को ९ महिना (साउनदेखि चैतसम्म)को तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो ।
००००
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२–०८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सरकारको नीति तथा कार्यक्रम पारित हुनुलाई संसदीय अभ्यासमा महत्त्वपूर्ण घटनाक्रम मानिन्छ ।
यस्तै राष्ट्रियसभाबाट पनि पारित भएको छ ।
००००
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६४९ दशमलव ११ को विन्दुमा कायम भएको हो ।
आइतबार २ सय ४६ कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा रू १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
००००
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको बजेटले केन्द्रित हुने क्षेत्रगत प्राथमिकता संसदमा सार्वजनिक गरेका छन् ।
आइतबार संघीय संसद्मा बोल्दै उनले आगामी बजेट रोजगारी सिर्जना, आर्थिक सुधार र पूर्वाधार विकासमा केन्द्रित हुने स्पष्ट पारे ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने नीतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सरकारको नीति कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने सरकारको प्रयास जारी रहने पनि बताएका छन् ।