०६ साउन २०८३, बुधबार

पूर्वबेलायती विशेष बल सदस्यले गरे सहकर्मीका ‘युद्ध अपराध’को खुलासा

बैशाख २९, २०८२
काठमाडौं
पूर्वबेलायती विशेष बल सदस्यले गरे सहकर्मीका ‘युद्ध अपराध’को खुलासा
बेलायतका तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरुन र अफगानिस्तानका तत्कालीन राष्ट्रपति हमिद कारजाई।

पूर्वबेलायती विशेष फौजका सदस्यहरूले आफ्ना सहकर्मीले इराक र अफगानिस्तानमा गरेका भनिएका युद्ध अपराधबारे वर्षौंको मौनता तोडेका छन् ।

पहिलोपटक खुलेर बयान दिँदै, ती पूर्वसैनिकहरूले एसएएसका सदस्यहरूले निहत्था मानिसलाई सुतिरहेको अवस्थामा गोली हानेर मारेको र हतकडी लगाइएका बन्दीलाई पनि गोली हानेर मारेको देखेको बताएका छन् । यसमा बालबालिकासमेत थिए । 

‘उनीहरूले एक बालकलाई हतकडी लगाए र गोली हाने’, अफगानिस्तानमा एसएएससँग सेवा गरेका एक पूर्वसैनिकले भने, ‘उनी स्पष्ट रूपमा बच्चा थिए, लड्न सक्ने उमेरका नजिक पनि थिएनन्।’

बन्दीहरूको हत्या ‘नियमित जस्तै’ भएको उनले बताए। ‘उनीहरू कसैलाई खानतलासी गर्थे, हतकडी लगाउँथे र गोली हान्थे’, उनले भने।

यस बयानमा एक दशकभन्दा लामो समयदेखि भएका युद्ध अपराधको आरोप समेटिएको छ, जुन अहिले बेलायतमा न्यायाधीशको नेतृत्वमा भइरहेको सार्वजनिक छानबिनले अध्ययन गरिरहेको तीन वर्षको अवधिभन्दा धेरै लामो हो।

सामेल नभएको जस्तो देखाइए पनि अब रोयल नेभीको विशेष फौज एसबीएस पनि गम्भीर आरोपमा परेका छन् ।   एसबीएसका एक पूर्वसदस्यले केही सैनिकहरूमा ‘भीड मानसिकता’ देखिएको बताए । उनीहरूको व्यवहार ‘क्रूर’ रहेको उनले वर्णन गरेका छन्।

विशेष फौजहरू अफगानिस्तानमा बेलायती सैनिकलाई तालिवान र बम बनाउनेहरूबाट जोगाउन खटाइएको थियो। उक्त द्वन्द्व बेलायती सेनाका लागि घातक बन्यो। जहाँ ४५७ जनाको मृत्यु भएको थियो। 

पहिलोपटक खुलासा भएको एक तथ्य अनुसार, त्यतिबेला प्रधानमन्त्री रहेका डेभिड क्यामरुनलाई अफगानिस्तानमा बेलायती विशेष फौजहरूले सर्वसाधारणको हत्या गरिरहेको बारेमा बारम्बार जानकारी दिइएको थियो।

विशेष फौजका गतिविधिबारे मौनता तोडेर बयान दिने शर्तमा ती व्यक्तिहरूले बीबीसीलाई बताएअनुसार युद्धको कानून बारम्बार र नियोजित रूपमा उल्लंघन भइरहेको थियो।

युद्धको कानुनअनुसार, कसैलाई मार्न सकिने अवस्था भनेको मात्र बेलायती सैनिक वा अरूको ज्यानलाई प्रत्यक्ष खतरा पुगेको अवस्थामा हो। तर एसएएस र एसबीएसका सदस्यहरू आफ्नै नियम बनाउँदै थिए।

‘यदि कुनै व्यक्ति दुई–तीन पटक सूचीमा देखापरेको थियो भने हामी उसलाई मार्ने नियत लिएर जान्थ्यौं, समात्ने प्रयास नै गरिँदैनथ्यो’, एक एसएएस पूर्वसदस्यले भने। 

एक साक्षीका अनुसार, हत्या ‘लत जस्तो हुने’ थियो। ‘धेरैजसो अभियानमा त गेष्टहाउसजस्ता भवनभित्र पसेर त्यहाँ सुतिरहेका सबैलाई मारिन्थ्यो’, उनले भने, ‘सुतिरहेका मानिसहरूलाई मार्नु उचित होइन।’

एसबीएसका अर्का पूर्वसदस्यले भनेका छन्, ‘कब्जामा लिएको ठाउँमा अरू सैनिकहरू आउँथे, जो कोही देखिन्थ्यो उसलाई गोली हान्थे। बाँचिरहेको भए फेरि गोली हानेर मार्थे।’

घाइतेलाई जानबुझेर मार्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो। तर ती पूर्वसैनिकका अनुसार यस्तो ‘रोजमर्रा’को घटना थियो। 

सबैतिर जानकारी, तर मौनता
‘साना टोलिहरू मात्र होइन, सम्पूर्ण कमाण्ड संरचनामा सबैतिर थाहा थियो’, एकजनाले भने, ‘व्यक्तिगत जिम्मेवारी अलग हो, तर सबैलाई थाहा थियो। मौन सहमति थियो।’

हत्या लुकाउन मृतकको शवको छेउमा पेस्तोल, ग्रेनेड वा एके-४७ जस्ता ‘ड्रप हतियार’ राख्ने गरिन्थ्यो।

त्यसपछि गलत विवरणसहितको प्रतिवेदन लेख्ने चलन थियो। ‘गम्भीर घटनाको समीक्षा रिपोर्ट यस्तो गरी लेखिन्थ्यो कि सैनिक प्रहरीको ध्यान नपरोस्’, एकजना भूतपूर्व सदस्यले भने। 

बेलायती विशेष फौजको कामप्रति अफगान अधिकारीहरू र राष्ट्रपतिदेखि चिन्ता जनाइरहेका थिए। त्यतिबेला राष्ट्रपति हमिद कारजईले सातपटक अफगानिस्तान आएका प्रधानमन्त्री डेभिड क्यामरुनलाई यो विषय बारम्बार उठाएका थिए।

उनका अनुसार ‘बेलायती विशेष फौजद्वारा बच्चासमेत मारिएको’ कुराको सन्देश क्यामरुनलाई पटक–पटक दिइएको थियो। अमेरिकी राजदूत डगलस लुटेका अनुसार कुनै पनि पश्चिमी अधिकारीले कारजईको गुनासो नसुनेको सम्भावना थिएन।

तर, लर्ड क्यामरुनका प्रवक्ताले भने, ‘उहाँको सम्झनाअनुसार राष्ट्रपतिले नेटो फौजबारे सामान्य गुनासो गरेका थिए, विशेष घटना भने उठाएका थिएनन्।’

अमेरिका वा फ्रान्स जस्ता देशहरूमा विशेष फौजका लागि संसद्को निगरानी प्रणाली भए पनि बेलायतमा त्यस्तो छैन। यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री, रक्षा मन्त्री र विशेष फौज प्रमुखमाथि पर्छ।

सैनिक अभियोजन विभागका पूर्वनिर्देशक ब्रुस होल्डरले भने, ‘छानबिनले क्यामरुनले के-कति जान्दथे भन्ने गहिराइमा जानुपर्छ।’

‘समस्या कहाँसम्म गहिरो थियो भन्ने थाहा पाउन जरुरी छ’, उनले भने। ​-बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्