
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।
सोमबार लुम्बिनीमा आयोजित २५ सय ६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।
उनले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन् । झण्डै झण्डै भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको थियो’, उनले भने, ‘हामीले संयमित हुन आग्रह गर्यौं । बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक छन् ।’
प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा समेत राखे ।
‘बुद्धका उपदेश छन्, शान्तिका उपदेश छन्, मानवताका उपदेश छन्, करुणाका उपदेश छन् । यी सबैलाई आत्मसात गर्न हामी सबैले आवश्यक ठान्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।
बुद्धको सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले बुद्ध दर्शन, बुद्धका सिद्धान्त र ऐतिहासिक महत्त्वका बारेमा खुलेर चर्चा गरे । उनले भिक्षु आनन्दप्रति आभार प्रकट गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखी लिपिबद्ध रूपमा सुरक्षित राखिएको स्मरण गरे ।
त्रिपिटकको पहिलो लिपि म्यूजियममा अझै रहेको समेत ओलीले जानकारी दिए । प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । हिंसाबाट टाढा रहन र मैत्रीभाव तथा करुणाको विकास होस् भन्ने उद्देश्यले काम गरिएको उनको भनाइ छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश दिइएको बताए । आचार्यले आजको दिनले शान्तिको सन्देश विश्वसामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।
बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको लागि एक करोड रूपैयाँ खर्च गरेको छ ।