२१ असार २०८३, आइतबार

२१औं शताब्दीमा नेपाल–भारत सम्बन्ध : विकास र खुला सीमाको बहस

बैशाख २९, २०८२
काठमाडौं
२१औं शताब्दीमा नेपाल–भारत सम्बन्ध : विकास र खुला सीमाको बहस
  • राजीव झा

२१ औं शताब्दीमा आतंकवाद विश्वको सबैभन्दा खतरनाक संकटका रूपमा स्थापित भएको छ । एक देशको सीमित समस्याभन्दा बाहिर अब यो मानव सभ्यतामाथिको वैश्विक चुनौती बनेको छ । 

विशेषगरी दक्षिण एसिया जहाँ पाकिस्तानजस्ता राष्ट्रहरूमा आतंकवादी संगठनहरूले आस्थाको नाममा हिंसा फैलाउने, युवालाई उक्साउने र सीमा पार आक्रमण गर्ने काम गर्दै आएका छन् ।

त्यसले भारत, अफगानिस्तान, अमेरिका, युरोपलगायतका देशहरूमा समेत अप्रिय घटना घटाएका छन् । 

नेपाल आफैंले सन् १९९६–२००६ (संवत् २०५२ देखि ०६३) को दशकमा सशस्त्र द्वन्द्वको पीडा व्यहोरेको थियो । त्यसैले, शान्ति र स्थायित्वको महत्त्व नेपाललाई राम्रोसँग थाहा छ ।

यस सन्दर्भमा, नेपाल र भारतले आतंकवादविरुद्ध संयुक्तरूपमा रणनीति बनाउनुपर्ने आवश्यकता रहेको छ । 

नेपाल खुला सीमा भएको मुलुक भएकाले यहाँबाट भारत प्रवेश गर्ने आतंककारीहरूको सञ्जाललाई रोक्न विशेष संयन्त्र निर्माण गर्नु अपरिहार्य भएको छ ।

काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको नेपालले निन्दा गर्‍यो भने नेपालका सबै राजनीतिक दलले आतंकवादविरुद्धको लडाईंमा भारतको समर्थन गरे ।

खुला सीमाः मित्रताको पुल वा जोखिमको ढोका ?

नेपाल र भारतबीचको खुला सीमा संसारमै दुर्लभ उदाहरण हो—जहाँ २ स्वतन्त्र राष्ट्रका नागरिकहरू विना भिसा स्वतन्त्ररूपमा यात्रा गर्न सक्छन् ।

यो सीमा केवल भौगोलिक सीमा रेखा होइन, यो ऐतिहासिक सम्बन्ध, पारिवारिक नातागोता, सामाजिक अन्तरसम्बन्ध र आर्थिक सहकार्यको जीवन्त प्रतीक हो ।

तर, पछिल्ला वर्षहरूमा यो सीमा दुवै देशका लागि सुरक्षा चुनौती बन्न थालेको छ । 

मानव तस्करी, सुनचाँदीको तस्करी, लागूऔषधको अवैध कारोबार, गैरकानूनी हतियार ओसारपसार र आतंकवादी आवतजावतजस्ता क्रियाकलापमा खुला सीमाको दुरुपयोग भइरहेको छ । 

उदाहरणका लागि भारतको विभिन्न सुरक्षा निकायहरूले कयौँपटक नेपाल हुँदै भारत प्रवेश गरेका आतंककारी संगठनका सदस्यहरूलाई नियन्त्रणमा लिएको रिपोर्टहरू सार्वजनिक गरिएका छन् । त्यसैले, खुला सीमा बन्द गर्नुको सट्टा यसको व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । 

सीमावर्ती क्षेत्रका नागरिकहरूलाई सुरक्षा चेतना, संयुक्त सुरक्षा गस्ती, प्रविधिको प्रयोग (जस्तै, सीसीटीभी, डिजिटल स्क्यानिङ) र स्थानीय निकायहरूको समन्वयमा आधारभूत संरचनाको विकास जरुरी छ ।

नेपाल–भारत मित्रता : नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको राजनयिक सम्बन्ध होइन, यो दुई संस्कृतिको साझेदारी हो । धार्मिक, सांस्कृतिक, भाषिक, पारिवारिक र ऐतिहासिक दृष्टिले यिनीहरू अविभाज्य छन् । 

जनकपुरधाम–अयोध्या सम्बन्ध, पशुपतिनाथ–काशीको आध्यात्मिक सम्बन्ध, मैथिली–भोजपुरी–नेपाली–हिन्दी भाषाको पारस्परिकता र सीमा क्षेत्रको अन्तरविवाहजस्ता परम्पराले नेपाल–भारत सम्बन्धलाई विशेष बनाउँछ ।

राजनीतिक स्तरमा पनि भारत नेपालको स्थायी विकास साझेदार रहँदै आएको छ । जस्तो कि– 

ऊर्जा क्षेत्रमा सहकार्यःभारतले आगामी दशकमा नेपालबाट १०,००० मेगावाट विद्युत् खरिद गर्ने सम्झौता गरेको छ । यसले नेपाललाई जलविद्युत् उत्पादनमा लगानी भित्र्याउन, रोजगारी सिर्जना गर्न र विदेशी मुद्रा आर्जन गर्न मद्दत पुर्‍याउँछ ।

पूर्वाधार विकासःजयनगर–कुर्था रेल सेवा, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, भौतिक पूर्वाधार सुधार आयोजना (हुलाकी सडक)लगायत धेरै परियोजनाहरू भारतको सहयोगमा सम्पन्न भएका छन् । कतिपय आयोजना निर्माणाधीन छन् ।

शिक्षा र छात्रवृत्ति : भारत सरकारले हरेक वर्ष हजारौं नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ— जसमध्ये एपीएस स्कलरशिप, महात्मा गान्धी स्कलरशिप, गोल्डेन जुब्ली, आयुष स्कलरशिप, आईसीसीआर, कम्पेक्स र मेडिकल पीएचडीसम्मका छात्रवृत्ति समावेश छन् । यिनले दिगो मानव संसाधन निर्माणमा सहयोग पुर्‍याएका छन् ।

स्वास्थ्य र मानवीय सहयोग : भारतले कोभिड महामारीको समयमा नेपाललाई खोप, अक्सिजन, मेडिकल सामग्री र एम्बुलेन्ससम्म सहयोग गरेको छ । दुवै देशका अस्पतालहरूमा नेपाली तथा भारतीय नागरिकहरू सहजरूपमा उपचार पाउँछन् ।

समृद्धिको आधारः शिक्षा, स्वास्थ्य र स्वरोजगार– दिगो समृद्धिका लागि मुलुकले शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राख्नुपर्छ । नेपालको युवा शक्ति अझै पनि वैदेशिक रोजगारमा निर्भर छ । यसले दीर्घकालीन विकासमा बाधा उत्पन्न गरिरहेको छ । नेपालले अब आफ्नो आन्तरिक स्रोत र सम्भावनामा लगानी गर्नुपर्छ ।

शिक्षा:व्यवहारिक शिक्षा, प्राविधिक तालिम, डिजिटल साक्षरता र उद्यमशीलता अभिवृद्धिमार्फत युवालाई स्वरोजगारमुखी बनाउनु पर्छ ।

स्वास्थ्यः आधारभूत स्वास्थ्य सेवा गाउँ–गाउँमा पुर्‍यााउनुका साथै आयुर्वेद, प्राकृतिक चिकित्सा र परम्परागत ज्ञानको प्रयोगबाट स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

रोजगारः कृषि, पर्यटन, लघु–मध्यम उद्योग, प्रविधि क्षेत्र, घरेलु उत्पादन र सेवा क्षेत्रहरूमा स्वरोजगार सिर्जना गरी वैदेशिक आश्रिततालाई घटाउन सकिन्छ ।

धर्म र राजनीतिः सहिष्णुताको आधारमा समाज– ​२१औं शताब्दीमा जब विश्व वैज्ञानिक, डिजिटल र अन्तरसंवेदनशील युगमा प्रवेश गरिसकेको छ, त्यस बेला धर्मलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्नु प्रजातान्त्रिक र मानवतावादी मूल्यको अपमान हो ।

नेपालले धर्मनिरपेक्षता संविधानमै सुनिश्चित गरिसकेको छ र भारतले पनि ‘सार्वभौम, समाजवादी, धर्मनिरपेक्ष, गणतन्त्र’को परिकल्पना स्वीकार गरेको छ ।

धर्मले समाजलाई जोड्ने, सद्भाव सिर्जना गर्ने, संस्कृतिको रक्षा गर्ने भूमिका खेल्नुपर्छ । राजनीति भनेको सबै धर्म, जाति, वर्ग र समुदायका लागि समावेशी नीति निर्माण हो ।

अतः धर्मको राजनीतिकरण होइन, सहिष्णुता र समानताको प्रवर्द्धन नै आजको आवश्यकता हो ।

साझा प्रयास, साझा भविष्य

नेपाल र भारत दुई देश मात्र होइनन्, यी दुई आत्माहरू, दुई इतिहासहरू, दुई संस्कृतिहरू एकअर्कामा पग्लिएका छन् । आतंकवाद, गरिबी, बेरोजगारी र विकासको अभावजस्ता साझा समस्याहरूको समाधान पनि साझेदारीमै निहित छ ।

खुला सीमाको व्यवस्थापन, पूर्वाधार विकास, शिक्षामा लगानी, स्वास्थ्यको सुदृढीकरण र आर्थिक परनिर्भरताबाट मुक्त हुन दुवै देशले सहकार्य गर्नुपर्छ ।

आन्तरिक राजनीतिक स्थायित्व, समावेशी नीतिहरू र पारस्परिक विश्वासको आधारमा नेपाल–भारतले मात्र नभई सम्पूर्ण दक्षिण एसियालाई शान्ति र समृद्धिको दिशातर्फ दोहोर्‍याउन सक्छन् ।

२१औं शताब्दी सम्भावनाको शताब्दी हो र नेपाल–भारत सम्बन्ध त्यस सम्भावनाको केन्द्रमा उभिएको छ ।

(लेखक झा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष हुन् ।)

salt training

कमेन्ट गर्नुहोस्