२७ जेठ २०८३, बुधबार

मेलम्ची र हेलम्बु क्षेत्रको चाँडै पुनःनिर्माण गर्छौं : मन्त्री खड्का

बैशाख २९, २०८२
काठमाडौं
मेलम्ची र हेलम्बु क्षेत्रको चाँडै पुनःनिर्माण गर्छौं : मन्त्री खड्का
फाइल फोटो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको छिट्टै पुनःनिर्माणका लागि सरकार लागिपरेको बताएका छन् । मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताएका हुन् । 

मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गरे । 'बाढीपछिको हेलम्बु र मेलम्चीको पुनःनिर्माणका लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडि बढौं,' उनले भने ।

पहाडी क्षेत्रका उर्वरभूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो । 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–भीमटारमा इन्द्रावती नदीको पानी ल्याएर सिँचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने मन्त्री खड्काले बताए । पहाडी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन महत्त्वपूर्ण भएको उनले बताए । ​

विक्रम संवत् २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

उक्त क्षेत्रको मन्त्री खड्काका साथै राज्यमन्त्री खमबहादुर गर्बुजा, सांसद मोहन बस्नेत, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले आज स्थलगत निरीक्षण गरेको हो । मन्त्री खड्कालाई स्थानीयले पुनःनिर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्