२४ जेठ २०८३, आइतबार

बैंक स्टेटमेन्ट नै देखाएर जनमतको दाबी– इमाडोलको घर पार्टीकै हो !

बैशाख २९, २०८२
काठमाडौं
बैंक स्टेटमेन्ट नै देखाएर जनमतको दाबी– इमाडोलको घर पार्टीकै हो !

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवकी श्रीमती ललिता यादवको नाममा रहेको ललितपुरको घरजग्गा खरिदमा पार्टीका नेताहरूले लगानी गरेको दाबी जनमत पार्टीले गरेको छ  ।

सुरेन्द्र नारायण यादवविरुद्ध जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको जाहेरीमा उक्त कुरा उल्लेख गरिएको छ  ।

प्रतिनिधिसभा सदस्य तथा मधेश प्रदेशसभा सदस्यहरूले सो घरजग्गाका लागि १ करोड ५८ लाख ५० हजार रुपैयाँ लगानी गरेको दाबी जाहेरीमा गरिएको छ  ।

जाहेरीअनुसार, सांसद अब्दुल खानले २५ लाख, विनिता सिंह दनुवारले १५ लाख, सोनु मुर्मुले १५ लाख, बबिता राउत ईसरले १० लाख, हसिना खातुनले १४ लाख, रञ्जु खङले १४ लाख ५० हजार रुपैयाँ तिरेका छन्  ।

त्यसैगरी, सांसद भाग्यश्री चौधरीले १५ लाख, वसन्तकुमार कुशवाहाले ३२ लाख र महेशप्रसाद यादवले ८ लाख रुपैयाँ सुरेन्द्र यादवको खातामा पठाएको दाबी जनमत पार्टीले गरेको छ  ।

तर, निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले भने जम्मा २४ लाख रुपैयाँ मात्र तिरेको दाबी जाहेरीमा गरिएको छ  ।

घरजग्गा खरिदका लागि गरिमा विकास बैंकबाट लिइएको १ करोड ४९ लाख रुपैयाँ ऋणको २२ किस्ताबापत हालसम्म ५५ लाख रुपैयाँ ब्याज जनमत पार्टीले तिरेको दाबी गरिएको छ  ।

उक्त रकमको सबै बैंक स्टेटमेन्ट तथा अन्य भौचरहरू प्रमाणका रूपमा पेश गर्दै यादवविरुद्ध जाहेरी दिइएको उल्लेख छ  ।

हेर्नुहोस्, जाहेरी तथा बैंक स्टेटमेन्टहरू :

null

null

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले यादवलाई गत वैशाख ७ गते पक्राउ गरेको थियो  ।

त्यसपछिका दिनहरूमा पटक–पटक म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ  ।

जनमत पार्टीको दाबीअनुसार, अध्यक्ष सीके राउतलाई काठमाडौंमा बस्नका लागि घरजग्गा खरिद गर्न पार्टीले विभिन्न व्यक्तिबाट रकम संकलन गरी तत्कालीन कोषाध्यक्ष सुरेन्द्र यादवलाई जिम्मेवारी दिएको थियो  ।

त्यसैअनुसार, यादवले २०८० साल जेठ महिनामा आफ्नी श्रीमती ललिता यादवको नाममा साविकको ललितपुर टीकाथली गाविस– ८ (हाल महालक्ष्मी नगरपालिका–४) स्थित कित्ता नम्बर ९४३ र क्षेत्रफल १४१३ वर्गमिटरको घरजग्गा खरिद गरेका थिए  ।

पार्टीले उक्त सम्पत्ति पार्टीको नाममा नामसारी गर्न आग्रह गर्दा यादवले ४० लाख रुपैयाँ माग्दै ह्वाट्सएपमार्फत सन्देश पठाएको र त्यसपछि अध्यक्ष राउतले ४० लाख रुपैयाँ समेत तिरेको दाबी जाहेरीमा गरिएको छ  ।

जाहेरीअनुसार, उक्त घरमा अध्यक्ष राउत शुरूदेखि नै बस्दै आएका छन्  । पार्टीको अनुशासनविपरीत काम गरेकाले यादवलाई २०८१ साल फागुन २१ गते निलम्बन गरिएको जाहेरीमा उल्लेख छ  ।

पार्टीको रकम हिनामिना गरेको, हिसाब माग्दा सम्पर्कविहीन रहेको र अमेरिका तथा कतारसहितका देशहरूमा बस्दै आएको आधारमा पार्टीले उनलाई स्पष्टीकरण सोध्नुका साथै निलम्बन गरेको थियो  ।

यादव पक्राउ परेपछि उनकी श्रीमती ललिता यादवले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिँदै उक्त घर आफ्नो निजी सम्पत्ति रहेको दाबी गरेकी छन्  ।

सीके राउत मासिक २५ हजार रुपैयाँ भाडा तिर्दै उक्त घरमा भाडामा बसिरहेको र वडा कार्यालयबाट पनि भाडामा बसोबास गरेको सिफारिस लिएको कागजातका आधारमा उनले रिट निवेदन दर्ता गराएकी हुन्  ।

भाडाको सम्झौता पत्र र वडाको सिफारिस उनले प्रमाणका रूपमा पेश गरेकी छन्  ।

सम्झौताअनुसार, २०८० फागुनदेखि २०८५ चैतसम्मको अवधिका लागि सो घर बहालमा दिइएको र प्रत्येक वर्ष ५ प्रतिशतको दरले भाडा बढ्ने उल्लेख छ  ।‘यादवलाई विगत एक वर्षदेखि नै पार्टीको घर हस्तान्तरण गर्न पटक–पटक अनुरोध गर्दै आएका थियौं  । पटक–पटक सम्झाइबुझाइ गरियो  । तर, उहाँ कतार गएर बस्ने, उल्टै धम्की दिने, अपशब्द प्रयोग गर्ने, र पार्टीको रकमबाट खरिद गरिएको घर पार्टीलाई नदिई बेइमानी गर्न खोजेपछि, सबै प्रमाणसहित प्रहरीमा उजुरी दिई कानुनी प्रक्रिया अघि बढाइएको हो,’ जनमत अध्यक्ष सीके राउतको सचिवालयका एक सदस्यले लोकान्तरसँग भने  ।

बैंक भौचरहरू :

null

null

हेर्नुहोस्, जाहेरी :

salt training

कमेन्ट गर्नुहोस्