०३ असार २०८३, बुधबार
स्थानीय तहमा बेथिति

पालिकामा जनप्रतिनिधि-कर्मचारी द्वन्द्व : जुनियरलाई जिम्मेवारी, सिनियर कामविहीन

बैशाख ३०, २०८२
विराटनगर
पालिकामा जनप्रतिनिधि-कर्मचारी द्वन्द्व : जुनियरलाई जिम्मेवारी, सिनियर कामविहीन

मोरङको बेलबारी नगरपालिकाका अधिकृत महेन्द्र खड्का तीन महिनादेखि कामविहीन छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको भन्दै उनको जिम्मेवारी खोसिएको हो । उनी बेलबारी नगरपालिकाका प्रशासन शाखाका प्रमुख थिए । 

माघको अन्तिम साताबाट खड्काको जिम्मेवारी खोसिएको थियो । त्यसपछि उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।  कार्यालयमा हाजिर गर्ने र फर्कने मात्रै काम भइरहेको खड्काले बताए । ‘कार्यालयमा मेरो कार्यकक्ष पनि छैन,’ खड्काले भने, ‘मन्त्रालयतिर त बरन्डा शाखा हुन्छ क्यारे, म त सडकतिर गएर बस्ने गर्छु ।’

नगर प्रमुख राईले प्रशासन प्रमुख खड्कालाई कारबाही गरेका हुन् । नगरपालिकाले सञ्चालन गरेका केही आयोजनाबारे अख्तियारमा उजुरी गरेको आरोप लगाएर खड्कालाई कारबाही गरिएको हो । नगरपालिकाका सूचना अधिकारीसमेत रहेका खड्काले बेलबारीको प्रस्तावित रंगशालाको डीपीआर र कोल्ड स्टोर निर्माणमा अनियमितता भएको भनेर अख्तियारमा उजुरी हालेको भन्दै खड्कालाई २०८१ माघ २९ गते बसेको नगर कार्यपालिका बैठकले कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले भने खड्का कार्यालयमा नै नआउने गरेको बताए ।  मान्छे नै कार्यालयमा नआउने गरेकाले शाखाको जिम्मेवारी नदिएको उनले बताए । ‘उहाँ अफिस नै आउनुहुन्न । कहिले संगठनको काम भन्नुहुन्छ, कहिलेकाहीँ आउनुहुन्छ र हिँडिहाल्नुहुन्छ,’ उनले भने, ‘यहाँ आएर नियमित काम गर्न थालेपछि कार्यकक्ष दिन्छौं । काम लगाउन घरमा जाने होइन ।’

कार्यपालिकाको १२७औँ बैठकले खड्कालाई कार्यपालिकाको गोपनीयता भङ्ग गरेको तथा कार्यालयको हितविपरीत काम/कारबाही गरेको आरोपमा प्रशासन शाखा प्रमुख पदबाट हटाएको थियो ।  उनलाई अन्यत्र सरुवा लैजानसमेत मेयरसहितका जनप्रतिनिधिले दबाब दिएका थिए । खड्का पनि तीन महिनादेखि सरुवाका लागि प्रदेश सरकारको ढोका ढक्ढक्याइरहेका छन् ।  तीन महिनासम्म प्रदेश सरकारले समेत उनको व्यवस्थापन गर्न सकेको छैन । 

खड्का मात्रै होइन, विराटनगर महानगरपालिकामा झण्डै आधा दर्जन कर्मचारीको जिम्मेवारी खोसिएको छ । उनीहरू हाजिर गरेर दिन बिताइरहेका छन् । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीले भने अनुसारको काम गर्न नसक्दा उनीहरू कामविहीन भएका हुन् । 

हैदर अली १५ महिनादेखि कामविहीन भएका छन् । यसअगाडि उनी महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख थिए। हाजिर गरेर दिन बिताइरहेको उनले बताए ।  २०८० को फागुनदेखि उनको जिम्मेवारी खोसिएको हो । मेयर कोइरालासँग हैदरको सामान्य विषयमा विवाद भएको थियो । 

करुणा फाउन्डेसन नामक संस्थाले महानगरपालिकासहित मोरङका केही स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको विषयमा काम गर्ने गर्छ । ‘करुणा फाउन्डेसनका प्रतिनिधि आएर बैठक राख्न भनेर स्वास्थ्य महाशाखा प्रमुखलाई दबाब दिएछन्,’ महानगरका एक कर्मचारीले भने, ‘उहाँले तपाईंहरू सल्लाह नै नगरी आउनुभयो भनेर बैठक राख्न सकिँदैन भन्नुभएको रहेछ । त्यसपछि मेयर कहाँ गएर उनीहरूले के भने, मेरा पाहुनाको बेइज्जत गर्ने भनेर जिम्मेवारी खोस्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको रहेछ ।’ 

अलीको जिम्मेवारी खोसेर उनीभन्दा जुनियर दिलीप यादवलाई मेयर कोइरालाले जिम्मेवारी दिएका छन् । अली ८औं तहका हुन् भने यादव ७औं तहका मात्रै हुन् । 

महानगरकै आर्थिक विकास महाशाखाका प्रमुख कृष्ण पोखरेलको पनि जिम्मेवारी खोसिएको छ । पशु विकास शाखाका प्रमुख शुकनारायण यादवको पनि जिम्मेवारी खोसिएको हो । यादवभन्दा जुनियर कर्मचारीलाई जिम्मेवारी दिएर उनलाई भने वडा कार्यालयमा पठाइएको हो । 

त्यसैगरी महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । राजेन्द्र पराजुली उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि फागुनको तेस्रो साताबाट विराटनगर महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । 

विराटनगर महानगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई विराटनगर महानगरपालिकाका जनप्रतिनिधिले हाजिर नगराउने बताइसकेका छन् । मेहता यसअघि इटहरीमा थिए ।  उनी इटहरीमा हुँदा उपमेयरसहित एमालेबाट जितेका जनप्रतिनिधिहरूसँग विवाद भएको थियो । विराटनगरमा पनि उपमेयर भने शिल्पा निरौला कार्की पनि एमालेकै हुन् । 

उपमेयरकै जोडबलमा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई बाटोबाटै छेकिएको एक कर्मचारीले बताए । मेयर कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठले भने सरुवा भएर आउँदा समन्वय नगरेका कारणले हाजिर हुन नदिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्