
कैलाली १६ मंसिर– प्रदेश नम्बर ७ अन्तरगत कैलाली जिल्लाका मतदाताले आफ्नो पक्षमा भोट माग्न आएपनि राजनीतिक दलहरुले गाउँमा भोटहाल्ने तरिकाबारे नसिकाएको गुनासो गरेका छन् ।
लोकान्तर डटकमले शनिवार कैलालीको गोदावरी नगरपालिको विभिन्न स्थानमा आयोजना गरेको मतदाता शिक्षा सचेतना कार्यक्रममा उनीहरुले गाउँमा मतदाता शिक्षाको अभावन रहेको बताएका हुन् ।
कतिपय मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाको बारे सामान्य जानकारी समेत नभएको र समानुपातिक प्रणालीबाट कसरी सांसद चुनिन्छन भन्ने बिषयमा कुनै जानकारी नरहेको बताए ।

कोलमुडाकी जानकी विकले अहिले सम्मभोट कसरी हाल्ने भन्ने सिकाउन गाउँमा कोही नपुगेको बताइन् । मतदाता शिक्षा सचेतना कार्यक्रमबाट आफू निधक्क ढंगले भोट हाल्न सक्ने भएको र कसैको मद्दत आबस्यक नपर्ने बताइन् ।
अर्की मतदाता विष्णु वडैलाले प्रतिनिधि सभाका लागि पहिलो पटक भोट हाल्न पाउँदा उत्साही भएको बताइन् । ‘सात नम्बर प्रदेशको राजधानी धनगढी बनाउने कुराले यहाँका मतदाता उत्साही छन्’ उनले भनिन् ।
तुलसी भट्टले गाउँमा भोट हाल्न सिकाउन कोही नआएको बताइन् । मतदाताहरुले प्रदेश सभाको निर्वाचन र समानुपातिक प्रणालीबाट कसरी सांसद चुनिन्छन भन्ने बिषयमा जिज्ञासा राखेका थिए ।