
वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा फरार रहेका एक जना प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन्।
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँ स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–३ बसोबास गर्दै आएका ३९ वर्षीय प्रकाश घर्तिमगरलाई काठमाडौंको कलंकीबाट मंगलबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनले तीन जना पीडितलाई वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप लागेको छ। सबललाल राईसहितका पीडितहरूले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि अनुरोध गरिएको थियो।
त्यसैअनुसार अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार साँझ ६:३० बजे पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा घर्तिमगरमाथि रुपन्देही जिल्ला प्रहरी कार्यालयबाट सात लाख रूपैयाँ ठगी गरेको बैंकिङ कसुरसम्बन्धी फरार अभियोगसमेत रहेको खुलेको छ।
पक्राउ परेपछि उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए ।