
वैदेशिक रोजगारीमा ठगिएका तनहुँका २४ सर्वसाधारणको ५४ लाख दुई हजार रूपैयाँ फिर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी)को पहलमा विभिन्न ठाउँका २४ जनाको रकम फिर्ता गरिएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म केन्द्रमा एक सय चार वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये २४ जनाको उजुरी फर्छ्योट गरी पीडितलाई रकम फिर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले जानकारी दिए । केन्द्रमा दर्ता भएकामध्ये ८० वटा उजुरी वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
केन्द्रले छ हजार चार सय सात पुरूष र तीन हजार छ सय १९ महिला गरी १० हजार २६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श प्रदान गरेको छ ।
भण्डारीका अनुसार वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको परिवार र दुर्घटनामा परेकाका लागि चार करोड २१ लाख १९ हजार दुई सय ५६ बीमा बापतको रकम उपलब्ध गराइएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन २०७६ मंसिर १ गतेदेखि जिल्लामा सामी परियोजना सञ्चालित छ ।