०८ असार २०८३, सोमबार
मल वितरण निर्देशिका अड्कियो

निर्देशिका संशोधन रोकियो, मल वितरण फेरि पुरानै ढाँचामा

जेठ १, २०८२
काठमाडौं
निर्देशिका संशोधन रोकियो, मल वितरण फेरि पुरानै ढाँचामा

रासायनिक मलको वितरण यस वर्ष पनि पुरानै शैलीमा हुने भएको छ । रासायनिक मलको वितरणलाई प्रभावकारी र व्यवस्थित बनाउन संशोधन गर्न लागिएको निर्देशिका रोकिएपछि पुरानै शैलीमा मल वितरण हुने भएको हो । 

कृषि, पशुपन्छी विकास मन्त्रालयले मल वितरणको समस्या हटाउन ‘अनुदान मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ संशोधनको गर्न लागेको थियो । जसमा वितरणसम्बन्धी व्यवस्थालाई संशोधन गर्न लागिएको थियो ।  तर, जुन ऐनमा टेकेर निर्देशिका संशोधन गर्न लागिएको थियो उक्त ऐनको दफा केही नेपाल ऐन संशोधनबाट हटाइएकोले निर्देशिका संशोधन हुन नसकेको हो ।  

अहिले कृषि मन्त्रालयले पुनः दफा परिवर्तनगरी निर्देशिका संशोधन गर्न रायका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयबाट संशोधनमा राय आएपछि कानुन मन्त्रालयमा पठाइने मन्त्रालय स्रोतले जनाएको छ । 

स्रोतका अनुसार चालू आर्थिक वर्षभित्र रासायनिक मलको निर्देशिका संशोधन हुने नदेखिएको र पुरानै शैलीमा मल वितरण गर्ने तयारी गरिएको हो । नेपालमा रासायनिक मलको वितरण साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामाग्री कम्पनीले गर्दै आएको छ । देशभर करिब ५ हजार बढी मल वितरणका लागि डिपोहरू रहेको साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । 

‘सरकारले रासायनिक मलका लागि छुट्टाएको बजेटको ३० प्रतिशत साल्ट ट्रेडिङले रासायनिक मल ल्याएर वितरण गर्ने हो’, उनले भने, ‘सबै स्थानीय तहमा विभिन्न सहकारीहरूले अनुमति लिएर आउनुहुन्छ । आवश्यकताअनुसार हामीले मल उपलब्ध गराउँछौँ ।’ 

कृषि सामाग्री कम्पनीका देशभर ४० वटा वितरक कार्यालयहरू रहेको कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले बताए । वैशाख ३० गतेसम्म कृषि सामग्री कम्पनीले कुल २ लाख ४९ हजार ७७३.४ मेट्रिक टन र साल्ट ट्रेडिङले १ लाख ५६ हजार ६४०.६ मेट्रिक टन गरी २ लाख ६५ हजार ४१४.२ मेट्रिक टन रासायनिक मल आयात गरिसकेको छ । 

null

गत आर्थिक वर्षको बाँकी मौज्दातसहित कृषि सामग्रीले २ लाख ६१ हजार ७२७.८ मेट्रिक टन र साल्ट ट्रेडिङले ७५ हजार ७०७.०१ मेट्रिक टन मल बिक्री गरिसकेको छ । गत आर्थिक वर्षकोसहित हाल कृषि सामाग्रीसँग ६१ हजार २८३.०५ मेट्रिक टन र साल्ट ट्रेडिङसँग ९ हजार ७३५.४ मेट्रिक टनगरी कूल ७१ हजार १८.४५ मेट्रिक टन मौज्दात रहेको छ । 

चालू आर्थिक वर्षका लागि ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने मन्त्रालयले जनाएको छ । जसका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

गत आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत् ४ लाख २० हजार मेट्रिकटन खरिद गर्न १५ अर्ब ८० करोड ८९ लाख रुपैयाँ छुट्याएको थियो । त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत् १ लाख ८५ हजार मेट्रिकटनसमेत ६ लाख ५ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न ८ अर्ब ५३ करोड ६४ लाखसमेतगरी २४ अर्ब ३४ करोड ५३ लाख अनुदान प्रदान गरेको थियो । जसबाट कूल ४ लाख ६० हजार ७१९ मेट्रिकटन मल खरिद भएको थियो । 

संशोधनले व्यवस्थित बनाउनेछ मालको वितरण
मल वितरणमा हालसम्म सहकारीलाई मलको कोटा निर्धारण गरेको चौमासिक अर्थात् १२० दिनसम्म सोही सहकारीले उठाउनुपर्ने व्यवस्था छ । अर्थात् यस व्यवस्थाले कोटा तोकेअनुसार डिपोमा मल भए पनि १२० दिनसम्म तोकेकै सहकारीले मात्रै लैजान मिल्छ । तोकेकै सहकारीले १२० दिनसम्म उक्त मल नउठाएमा मात्रै अर्कोलाई दिन मिल्छ । 

यस व्यवस्थाले डिपोमा मल हुँदा पनि किसानहरूले नपाएको र ढिलो मल पाउने गरेको गुनासो गरेका थिए । यो व्यवस्थालाई संशोधन गरेर १६ दिनभित्र तोकेको सहकारीले मल उठाइसक्नुपर्ने व्यवस्था गर्न लागेको छ । 

तोकेको सहकारीले १५ दिनभित्र मल नउठाएमा अर्को सहकारीलाई उक्त मल दिन मिल्नेछ । यसले गर्दा किसानहरूले समयमै मल पाउने र डिपोमा लामो समयसम्म मल नराखिने मन्त्रालयले जनाएको छ । 

अनुगमनका लागि पनि हरेक जिल्लामा एउटा संयन्त्र राख्ने व्यवस्था गरिने छ । यस व्यवस्थाले हरेक जिल्लामा हुने कालोबजारीलाई रोक्नुका साथै आपूर्तिलाई पनि मिलाउनेछ । 

मलको कोटा तोक्न लिइने आधारहरूमा पनि परिमार्जन गरिन लागेको छ । जहाँ बढी खेती हुन्छ, जहाँ बढी बाली हुन्छ, जहाँ सिँचाई सुविधा छ, जहाँ खपत बढी हुन्छ त्यहाँ बढी मल पुग्ने गरी कोटा निर्धारण गरिनेछ । 

व्यवसायीक बाली, सिँचाई सुविधा, खेती योग्य जमिन र बाली सरलताका आधारमा मलको कोटा तोकिने व्यवस्था गरिने छ । खेतीको संख्या अर्थात् कति पटक खेती गरिन्छ त्यसलाई हेरिनेछ । अर्को व्यवसायी बाली कति लगाइन्छ ? त्यसलाई पनि कोटा निर्धारण गर्नका लागि आधारका रूपमा लिइनेछ । 

यसका साथै प्रदेशलाई पनि आफ्नो आवश्यकता अनुसार मल परिचालन गर्न सक्ने अधिकार प्रदान गरिएको छ । यस व्यवस्थाबाट प्रदेशले आफ्ना स्थानीय तहमा उत्पादन हुने बाली, खेतियोग्य जमिन र आवश्यकता अनुसार मलको परिचालन गर्न सक्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्