
आफ्नो टीम होस्, या अर्कोको नै किन नहोस्, आफूअनुकूल ‘ट्रिट’ गर्नमा कांग्रेस सभापति शेरबहादुर देउवा माहिर मानिन्छन् । उनै देउवाले चालेको ‘सिग्नेचर मुभ’का कारण यतिबेला कांग्रेसको आन्तरिक शक्ति सन्तुलन बदलिँदै गएको छ ।
१४ औं महाधिवेशनमा देउवालाई अर्को समूहबाट काउन्टर दिन डा. शेखर कोइराला सभापतिमा र गगन थापा महामन्त्रीमा उम्मेदवार बने । शेखर सभापतिमा पराजित भए, तर महामन्त्रीमा युवा नेता गगनले सहजै बाजी मारे ।
महामन्त्रीमा देउवाका दुवै उम्मेदवार पराजित हुँदा अर्कोतिर फरक–फरक समूहबाट गगन र विश्वप्रकाश शर्माले जित्न पुगे । पार्टीको काममा सभापतिलाई सबैभन्दा नजिकबाट सहयोग गर्ने कार्यकारी पदाधिकारी महामन्त्री आफ्नो टीमबाट नहुँदा देउवालाई शुरूमा अप्ठ्यारो थियो ।
यस्तोमा देउवाले गगनसँग निकटता बढाउँदा शेखर टाढिए । हुनलाई संसदीय दलको निर्वाचनमा शेखर पक्षका सबै सांसदले गगनलाई भोट नदिएको बहाना थियो ।
३३/३४ सांसदमध्ये यो समूहबाट गगनलाई २५ जनाले मात्रै भोट दिए । त्यसयता शेखर र गगन चाहेर पनि नजिक हुन सकिरहेका छैनन् ।
पहिले आफ्नो समूहको छुट्टै बैठक बोलाउने गरेका शेखरले त्यो शैली छाडेका छन् । गगन पनि शेखरसँगको संवादमा त्यति गएका छैनन् ।

तर, यसबीचमा विधानले दिएको जिम्मेवारीअनुसार सभापतिलाई सहजीकरण गर्ने गरी निरन्तर काम गरिरहे । यसअघि प्रचण्ड नेतृत्वको सरकारदेखि अहिले केपी ओली नेतृत्वको सरकारलाई समेत नजिकबाट सहयोग गरे । तर, पछिल्लो केही समययता गगन सरकारका कामप्रति असन्तुष्ट छन् । सरकारका कामलाई सहजीकरण गर्न बनाइएको दुईदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकसमेत बहिष्कार गर्नेसम्मको स्थितिमा पुगेका छन् ।
एमालेसँगको ७ बुँदे सहमतिको जगमा बनेको सरकारमा देउवा प्रधानमन्त्रीमा आलोपालोको अवसर कुरेर बसेका छन् । तर, दुई ठूला दलले अपेक्षाकृत काम गर्न नसकेको भन्दै गगन विरोधमा बोलिरहेका छन् । उनको यो विरोध सरकारको मात्रै होइन, देउवाका लागि पनि हो भन्ने देखिन्छ । नतिजा दिन नसक्दा पनि सरकारको धेरै नै प्रतिरक्षा पार्टी नेतृत्वले गरेको भन्दै गगन देउवासँग असन्तुष्ट बनेका छन् ।
यही बेला हिजो देउवासँग असन्तुष्ट बनेका डा. शेखर कोइराला पनि एकाएक नरम देखिएका छन् । कांग्रेसले प्रचण्डसँग मिलेर सरकार बनाउँदा शेखरले एमालेसँग मिल्नुपर्ने धारणा राखेका थिए । तर, कांग्रेस र एमालेको सरकार बनेदेखि यही सरकारको विरोधमा बोल्न थाले ।
यद्यपि, अहिले गगनले प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग दुरी बढाएका बेला शेखरले भने दुरी घटाएका छन् । केही समय अघिसम्म सरकारले नागरिकलाई डेलिभरी दिन नसकेको भन्दै शेखरले आलोचना हुने नगरेको एउटा पनि सार्वजनिक मञ्च हुन्थेन । तर, आजकाल शेखरको बोलीमा आलोचना सुनिँदैन, बरु आग्रहका स्वर सुनिन थालेका छन् ।
वैशाख २० गते नवलपरासी पुगेर सुशासन दिने सरकारसँग सुशासनको अपेक्षा नभएको भन्दै गम्भीर भाषण गरेका थिए । तर, सरकारको आलोचना गरेको भन्दै उनीमाथि प्रश्न उठेपछि दोस्रो दिन उनले नरम अभिव्यक्ति दिए । वैशाख २२ गते संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शेखरले सरकार ढाल्न लागेको भन्दै आफूविरुद्ध गलत प्रचार गरेको दाबी गरे ।
‘नेपाली कांग्रेसभित्र समस्या छैन । उहाँहरूलाई लागेको हो । कति मिडियाले गलत प्रचार पनि गरेका छन्,’ शेखरले भनेका थिए, ‘मेरो बारेमा पनि सरकार ढाल्न खोज्यो भनेका छन् । त्यस्तो छैन । यो सरकारलाई असफल हुने छुट छैन ।’
शेखरले सरकरको मात्रै कुरा गरेनन्, सरकारबाट गगनसहितका नेता बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको विरोधलाई दोहोर्याइदिए । केही दिन अगाडिमात्रै नवलपुर पुगेर शेखरले पालिकासम्म गठन गर्न खोजिएको संयन्त्र खारेज गर्नुपर्ने बताएका थिए । गगनले संयन्त्रको बैठक बहिष्कार गरेको केही दिनमै शेखरले सरकारबाहिरबाट बनेको संयन्त्र अलोकतान्त्रिक भनेका हुन् । संसद् बैठकपछि पनि अर्थपूर्ण रूपमा शेखरले त्यही कुरा दोहोर्याउन उचित ठाने ।
‘राजनीतिक संयन्त्र बाहिरबाट बनाउन हुँदैन । प्रजातान्त्रिक सिस्टममा यसरी बाहिरबाट संयन्त्र बनाइँदैन । बनाउँदा पनि सरकारभित्रैबाट बनाउने हो,’ गगनसहित सरकारमा नभएका नेताप्रति लक्षित गर्दै शेखरले भनेका थिए, ‘संघ, प्रदेश र पालिकासम्म संयन्त्र बनाउने एमाले र कांग्रेसको कुरा गलत छ ।’ संयन्त्रमा बसेर गगनले पार्न खोजेको प्रभाव र आफूलाई अलग देखाउन खोजेको प्रवृत्तिमाथि शेखरले राजनीतिक प्रतिवाद गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
गगन पनि के कम संसदीय दलको नेतामा आफूले मात्रै लड्ने आँट गरेको केही समयअघि बताएका थिए । अरू कोही पनि नेतामा सभापतिसँग लड्ने आँट नभएको समेत बताएका थिए । शेखर र गगन १५ औं महाधिवेशनमा सभापतिका दाबेदार हुन् ।
यद्यपि शेखरले सात बुँदेको प्रतिबद्धताअनुसार संविधान संशोधन, आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रण नभएको, सुशासन नभएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
केही समय अघिसम्म शेखर पार्टी सभापति देउवासँग पनि सन्तुष्ट थिएनन् । तर, पछिल्लो समय उनले कुनै पनि सार्वजनिक फोरममा सभापति देउवाको विरोध गरेका छैनन् । गगन संस्थापनसँग असन्तुष्ट रहेका बेला देउवासँग दुरी नबढाउने नीति लिएका छन् ।
पूर्व संस्थापनभित्रै खेलेर दुईपटक सभापति उछिट्याएका देउवा पनि एउटा असन्तुष्ट भए अर्कोलाई इंगेज गर्ने रणनीतिमा देखिँदै आएका छन् । गिरिजाप्रसाद कोइराला बाँचुञ्जेल पूर्व संस्थापनलाई टुक्राउन सकेनन् । तर, सुशील कोइराला कांग्रेसको नेतृत्वमा आएयता देउवा हावी हुन थाले । उनको निधनपछि त देउवाले तत्कालीन संस्थापन पक्षलाई तितवरवितर नै पारिदिए । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई सभापतिमा हराउन कृष्णप्रसाद सिटौलालाई आफूतिर ताने । १४ औंमा शेखरलाई हराउन शशांकलाई प्रयोग गरे । प्रकाशमान सिंहदेखि सुजाता कोइरालासम्मलाई रणनीतिक रूपमा उतारे ।
शेखर र गगनबीच टसल हुँदा आलोपालो प्रयोग गर्ने र आपसमा मिल्न नदिने भित्री रणनीति समेत देउवाको छ । शेखर निकटका नेता डा. गोविन्दराज पोखरेल संस्थापनसँग सम्बन्ध सुधार नै भन्दा पनि आलोचनात्मक समर्थन रहेको बताउँछन् ।
‘सस्थापनसँग शेखर दाइको ठ्याक्कै सम्बन्ध सुधार भएको होइन । तर, राम्रो गर्दा राम्रो भन्ने र नराम्रो गर्दा आलोचना गर्ने उहाँको स्वभाव नै हो,’ पोखरेलले भने, ‘सरकारको नतिजा भएन भनेर बोल्नुभएकै छ । बाहिर सार्वजनिक कार्यक्रम नहुँदा सरकार र पार्टी नेतृत्वको विरोध पहिलेजस्तो गरेको नदेखिएको हो ।’
तर, विभिन्न परिस्थितिले गगन असन्तुष्ट हुँदा शेखर नरम भइरहेको प्रस्टै देखिएको नेताहरू बताउँछन् । ‘कांग्रेसमा सभापतिसँग कसले राम्रो सम्बन्ध राख्ने भनेर प्रतिस्पर्धा यसअघिदेखि नै चल्दै आएको छ । एउटाको राम्रो हुँदा अर्को टाढिने क्रम शेखर र गगनको देखिन्छ,’ ती नेता भन्छन्, ‘अब महाधिवेशनमा सभापति देउवाको दाबी नहुने भएपछि दुवैले पार्टी नेतृत्वलाई चिढ्याउने नीति लिनुभएको छैन । अरू नेता पनि सभापतिलाई चिढ्याउने भन्दा उहाँको विश्वास आर्जन गर्ने प्रयासमा हुनुहुन्छ ।’

चुपचाप छन् गगन
सरकारको काम गराइसँग असन्तुष्ट भएका महामन्त्री थापा पछिल्लो समय सार्वजनिक कार्यक्रममा धेरै बोल्ने गरेका छैनन् । अप्ठ्यारो परेका बेला सरकार र पार्टीले सम्झिने तर आफ्नो हिसाबले निर्णय गर्दै जाने स्थिति आएपछि उनी तर्किरहेका छन् ।
उनी निकटका नेता अजयबाबु सिवाकोटी सरकारमार्फत राम्रो काम गरौं भनेर लागे पनि सुधार हुने स्थिति नभएपछि महामन्त्री निष्क्रिय जस्तो देखिएको बताउँछन् ।
‘महामन्त्रीको सरकार र पार्टी नेतृत्वसँग सिजनल जस्तो सम्बन्ध देखिन्छ । काम गर्दै जाँदा अप्ठ्यारो परेको बोलाउँछन् । सरकारलाई नतिजामुखी बनाऊँ भनेर लाग्नुभयो । पार्टीले संयन्त्रमा छलफल गर्न पनि पठायो,’ सिवाकोटीले भने, ‘तर, पछिल्ला हरेक नियुक्तिमा संयन्त्रमा छलफल भइरहेको छैन । भित्र सम्झाउँदा मान्नुहुन्न, अनि उहाँहरू आफ्नो हिसाबले निर्णय गर्नुहुन्छ । अनि सरकारले लय समातेन भनेर बोलेपछि रिसाउनुहुन्छ । अहिले गगन दाइसँग सरकार र पार्टीको भएको त्यही हो ।’
पछिल्लो समयमा नियुक्ति, सत्य निरुपण आयोगसहितका विषयमा पार्टी पर्याप्त छलफल नगरी अगाडि बढेको पनि थापाले रुचाएका छैनन् ।
केही समय अघिसम्म हरेक विषयको छलफलमा कांग्रेसबाट गगन जान्थे । तर, अहिले देउवाले पनि उनलाई यी कामका लागि पठाएका छैनन् । सभापति देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नै कांग्रेसको तर्फबाट मुख्य छलफल गर्दै आएका छन् ।