२३ असार २०८३, मंगलबार

एकातिर खोला, अर्कैतिर कल्भर्ट !

जेठ १, २०८२
विराटनगर
एकातिर खोला, अर्कैतिर कल्भर्ट !

मोरङको कानेपोखरी गाउँपालिका–६ सीताधापमा २१ लाख भन्दा बढी रकम खर्च गरेर ‘कल्भर्ट’ बनाइएको छ तर, त्यहाँ खोला वा ढल केही छैन । खोला कल्भर्टभन्दा अलि पर बगिरहेको देखिन्छ । कल्भर्ट प्रगोगविहीन छ । 

स्थानीयको सास्ती भने उस्तै छ । स्थानीय ३० घरधुरीलाई लक्षित गरेर बनाइएको कल्भर्ट उनीहरूलाई काम न काजको बनेको हो । आर्थिक वर्ष २०८०–८१ मा कानेपोखरी गाउँपालिकाले सीता खोलामा कल्भर्ट निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । मोरङकै रंगेलीको आकृति कन्स्ट्रक्सनले २१ लाख १० हजार २२३ मा ठेक्का लिएर कल्भर्ट बनाएको थियो । कन्स्ट्रक्सनले १९ लाख ६० हजार ३ रुपैयाँ भुक्तानी प्राप्त गरिसकेको छ । तर, काम भने अझै पूरा भएको छैन । 

कल्भर्ट बनेर पनि आफूहरूलाई कुनै काम नलागेको स्थानीय शान्ता मगरले बताइन् । ‘मैले धेरैपटक पालिकामा र वडाध्यक्षलाई भनें, उहाँहरूले काम हुन्छ नआत्तिनु भन्नुभएको छ । कहिले काम हुन्छ हेर्न चाहिँ बाँकी छ,’ उनले भनिन् । 

अर्की स्थानीय पदमकुमारी विश्वकर्माको भनाइ पनि उस्तै छ । स्थानीयको दैनिक जंगल जाने बाटो त्यही हो तर, कल्भर्ट कसैले प्रयोग गर्दैनन् । ‘खोलामा बाढी आउँदा यहाँबाट कसरी हिँड्नु ? वर्षामा बाढी आउँदा तर्नै नसक्ने हुन्छ,’ विश्वकर्माले भनिन्, ‘यो पुलबाट हामी हिँडेका छैनौं । हिँड्न सक्ने अवस्था पनि  छैन ।’

null

कानेपोखरी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार अब यसलाई पूरा गर्न थप ३३ लाख रुपैयाँ आवश्यकता पर्ने देखिएको छ । उनले कल्भर्टको दुवै साइडमा तारजाली लगाउने, होमपाइप राख्ने र माटो पुर्ने काम बाँकी रहेको बताइन् ।
‘म अनुगमनमा गएको थिएँ, त्यो काम देखेर छक्क परें,’ यादवले भनिन्, ‘यसलाई थप रकम विनियोजन गरेर काम गर्नुपर्ने देखिएपछि चालू आर्थिक वर्षमा पनि २५ लाख बजेट राखेका छौं । अब थप टेण्डर आह्वान हुन्छ ।’

सीताधाप खोलाको कल्भर्ट निर्माणमा जम्मा ५३ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ । तर, यति ठूलो रकम खर्च गरेर पनि पुलको निर्माण सम्पन्न हुनेमा स्थानीयहरू अझै आशंकित छन् । 

पालिका स्रोतका अनुसार ठेकेदारलाई भुक्तानी गर्नुअघि गुणस्तर र प्रगति मूल्याङ्कनमा गम्भीर त्रुटि भएको स्थानीय बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्