
उच्च अदालत विराटनगरले उमागौरी सहकारीको रकम हिनामिना प्रकरणमा सक्कल मिसिल झिकाउन आदेश गरेको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासमेत मुछिएको यस प्रकरणमा कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले बिहीबार यस्तो आदेश गरेको हो । मुद्दाको अर्काे सुनुवाइ आगामी बिहीबारका लागि तोकिएको छ ।
जिल्ला अदालतले अञ्जला कोइरालालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यस निर्णयविरुद्ध सरकारी वकिलको कार्यालय र अञ्जला दुवै पक्षले उच्च अदालतमा निवेदन दिएका थिए । सुनुवाइको क्रममा दुई न्यायाधीशको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।
उमागौरी सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
कोइरालासहित रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास, ज्योति बास्कोटा, लक्ष्मी देवी कार्की राजवंशी, सुमन लोहनी र पूर्वसञ्चालक मनोजकुमार सोनी धरौटीमा छुटेका छन् । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी भने पुर्पक्षको लागि कारागार चलान भइसकेका छन् ।
सरकारी वकिल कार्यालयले एउटै मुद्दाका उस्तै आरोपीहरूमध्ये कोही थुनामा, कोही धरौटीमा छुटेको भन्दै जिल्ला अदालतको आदेश बदर गर्न माग गरेको थियो ।
यस प्रकरणमा वैशाख ११ मा न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेश सदर गर्ने निर्णय सुनाएका थिए भने न्यायाधीश केशवप्रसाद बास्तोलाले धरौटी १ करोड सम्म बढाउनुपर्ने राय दिएका थिए ।
यी दुई भिन्न रायका कारण तेस्रो इजलासमा सुनुवाइ चलिरहेको छ ।