
बजेटका प्राथमिकता र सिद्धान्तमाथि (प्रिबजेट)को छलफलका क्रममा संसद्का कुर्सी खाली भएकोबारे सांसदहरूले नै कटाक्ष गरेका छन् । कांग्रेस सांसद रामहरि खतिवडाले संसद्को जमानत जफत भएको टिप्पणी गरे ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै खतिवडाले संसद्भित्रको दृष्य दाँत झरेकोको जस्तो भएको टिप्पणी गरेका हुन् ।
‘बजेटका सिद्धान्तमाथिको छलफलमा जमानत जफत भयो, चुनावमा खसेको मतको १० प्रतिशत भोट नपाए जमानत जफत हुन्छ । यहाँ २५ जना सांसद हुनुहुन्छ, जुन १० प्रतिशत नभएको अवस्था हो’, खतिवडाले भने, ‘यहाँको दृष्य नागरिकको फुक्लेको दाँत जस्तो भयो, संसद् कहीँकतै मात्र देखिने ।’
खतिवडाले कांग्रेस-एमालेको शक्तिशाली सरकारले बजेटमार्फत् आशाका किरण दिन नसके लोकतन्त्र र व्यवस्थामाथि नै प्रश्न उठ्ने टिप्पणी गरे ।