
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमुक्त भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिरी जमानीमा रिहाइ गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशलगत्तै उनी हिरासतमुक्त भएका हुन् ।
राजावादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनकै दिन बेलुका मिश्र पक्राउ परेका थिए । उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए ।
मिश्र पक्राउ परेको ५० दिनपछि हिरासतमुक्त भएका हुन् । मिश्रमाथि राज्य विरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मुद्दामा प्रहरीले अनुसन्धान चलिरहेको छ ।
आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै मिश्रले श्रीमती सारिका कार्की मिश्रमार्फत् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सोही रिटमा सर्वोच्चले उनलाई कानून व्यवसायीको रोहबरमा छाड्ने आदेश गरेको हो ।
यो पनि पढ्नुहोस्- रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुसी नहुने मिश्रले प्रतिक्रिया दिएका छन् । मिश्रले आफूले राज्यले आरोप लगाएजस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको समेत जिकिर गरे ।
‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन’, सर्वोच्चको आदेशपछि मिश्रले पत्रकारहरूसँग भने ।
मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर राणालाई भने प्रहरीले स्वास्थ्यको कारण देखाउँदै यसअघि नै हाजिरी जमानीमा छाडिकेको छ ।
उक्त दिनको प्रदर्शनका ‘जनकमाण्डर’ भनिएका दुर्गा प्रसाईं भने प्रहरी हिरासतमै छन् ।