३२ असार २०८३, बिहीबार

सगरमाथा संवादमा भारतका पर्यावरण मन्त्री यादवको सहभागितासहित उच्चस्तरीय भेटवार्ता

जेठ २, २०८२
काठमाडौं
सगरमाथा संवादमा भारतका पर्यावरण मन्त्री यादवको सहभागितासहित उच्चस्तरीय भेटवार्ता

भारतका पर्यावरण, वन एवम् जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव तीनदिने औपचारिक भ्रमणका लागि नेपालमा छन् । नेपाल सरकारले आयोजना गरेको ‘सगरमाथा संवाद २०२५’ मा सहभागिता जनाउन उनी बिहीबार  काठमाडौं आएका हुन् । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ । 

नेपाल सरकारले विश्वव्यापी, क्षेत्रीय तथा राष्ट्रिय महत्वका विषयमा विचार विमर्श गर्न आयोजना गरेको “सगरमाथा संवाद” को उद्घाटन समारोहमा सहभागिता जनाउँदै मन्त्री यादवले भारतको तर्फबाट प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन तथा वातावरण संरक्षणमा भारतको प्रतिबद्धता प्रस्तुत गरे । 

भ्रमणको क्रममा उनले नेपालका वन तथा वातावरण मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरे । सो अवसरमा दुवै पक्षले वातावरण संरक्षणसम्बन्धी हालसम्मका प्रयासहरुको समीक्षा गर्दै भविष्यमा थप सहकार्यको सम्भावनाबारे गहन छलफल गरे ।

त्यसैगरी, सगरमाथा संवादको साइडलाइनमा मन्त्री यादवले नेपालकी माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग पनि भेटवार्ता गरे । भेटमा भारत–नेपालबीच वातावरण तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने विषयमा फलदायी संवाद भएको थियो ।

null

मन्त्री यादवले नेपालका सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग शिष्टाचार भेट पनि गरे । भेटमा उनले प्रधानमन्त्रीलाई भारत सरकारको तर्फबाट अभिवादन तथा सगरमाथा संवाद सफलतापूर्वक आयोजना गरेकोमा बधाई ज्ञापन गरे । दुवै नेताबीच ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धका साथै वातावरणीय सहकार्यलाई थप मजबुत पार्ने विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणकै क्रममा मन्त्री यादवले ललितपुरस्थित युनेस्को विश्व सम्पदा स्थल पाटन दरबार स्क्वायर नजिकको अदालत भवन र श्री जेष्ठ वर्ण महाविहारको समेत अवलोकन भ्रमण गरे । यी दुबै परियोजनाहरु भारत सरकारको सहयोगमा २०७२ को विनाशकारी भूकम्पपछि पुनर्निर्माण हुँदै आएका ३० सांस्कृतिक परियोजनामध्येका हुन् ।

मन्त्री यादवको भ्रमणले भारत–नेपाल सम्बन्धमा रहेको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ । विशेष गरी वातावरण संरक्षण र जलवायु कार्यका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई थप गहिरो र परिणाममुखी बनाउन यस भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको नेपलस्थित भारतीय दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्