
काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् ।
यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो । छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । घारिबथानमा उनको घरबाहेक कसैको पनि क्षति भएको छैन ।
मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुगेका छन् । घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् ।
शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए ।