
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पूर्वविशिष्ट व्यक्तिका लागि दिइएको सेवा सुविधा र सुरक्षा खारेज गर्न माग गरेका छन् । सुरक्षा चुनौती नभएकालाई सामन्ती ठाँटबाँटका लागि दिइएको सुरक्षाकर्मी फिर्ता गर्न पनि उनले माग गरे ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दाहालले सरकारी फजुल खर्च कटौती गर्न, अनावश्यक संरचना खारेज र पूर्वविशिष्टको सेवा सुविधा खारेज गर्न माग गरेका हुन् ।
‘पूर्वविशिष्टको नाममा दिइएका सेवा सुविधा र सुरक्षाको पूर्ण खारेजी र बहालवालको सेवा सुविधामा भारी कटौती गरियोस्,’ सांसद दाहालले भने, ‘जसलाई सुरक्षा चुनौती छ, त्यसलाई मात्र सुरक्षाकर्मी दिइयोस् । सुरक्षा चुनौती नभएका सामन्ती ठाँटबाँट र सानको लागि सुरक्षा नदिन सरकारको ध्यानाकर्षण गराउँछु ।’