
नेपालको उत्तरी नाका विशेषगरी रसुवागढी–केरुङ नाकाबाट निर्बाध सुन तस्करी भइरहेको छ । प्रहरी र भन्सारले गोप्य सूचना पाए मात्रै सुन बरामद गर्छन् ।
केरुङ नाकालाई सुन तस्करीको ‘हब’का रूपमा पनि लिइन्छ । आइतबार मात्रै रसुवा प्रहरीले गोसाइकुन्ड गाउँपालिकाबाट ७ किलो ६ सय ५५ ग्राम सुनसहित सोही गाउँका किशोरकुमार भुजेललाई पक्राउ गरेको थियो ।
उनले डिब्बा ट्रकको क्याबिनमा फल्स बटन बनाएर सुन ल्याएका थिए । प्रहरीलाई ३ दिनअघि नै उक्त सूचना आएसँगै निगरानी बढाउँदा भुजेल नियन्त्रणमा आएका हुन् ।
प्रहरी अनुसन्धानमा खुलेअनुसार भुजेल पनि भरिया नै हुन् । उनले केही रकम पाउने आश्वासनमा सुन काठमाडौं ल्याउन खोजेका थिए ।
कानूनी प्रक्रियाअनुसार प्रहरीले भुजेल, बरामद सुन र गाडीलाई भन्सार कार्यालयमा बुझाएको छ ।
२०७२ को भूकम्पपछि खोलिएको रसुवा–केरुङ नाकाबाट निर्बाध सुन तस्करीका घटना भएका छन् ।
प्रहरीले सूचना पाएसम्म सुन बरामद पनि गरेका छन् । तर, सूचना नपाउँदाको अवस्थामा तस्करले फाइदा उठाउँदै आएको जानकारहरू बताउँछन् ।
यसअघि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुनसहित विभिन्न मालसामान तस्करी हुँदै आएको थियो । तातोपानी नाकाभन्दा अघि केरुङ नाकामा सुरक्षा कडाइ भएको दाबी प्रहरीको छ ।
बलियो सुरक्षा संयन्त्रका बीचमा पनि तस्करले मुन्टो उठाउँदै आएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने रसुवाका विभिन्न सडक रुटमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगै नेपाली सेनाले ठाउँ–ठाउँमा चेकप्वाइन्ट राखेर चेकजाँच गर्दै आएका छन् । तर, पनि सुन तस्करी हुन छाडेको छैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं एसएसपी रमेश थापाले प्रहरीले थाहा पाएसम्मका तस्करीलाई नियन्त्रण गर्दै आएको बताए ।
‘तस्करी आफैंमा संगठित अपराधभित्र पर्छ, यसमा विभिन्न तह हुन्छन्,’ थापाले लोकान्तरसँग भने, ‘अधिकांश घटनामा मुख्य गिरोह भरियाको सम्पर्कमै आएका हुँदैनन् ।’
उनले केही घटनामा प्रहरी आफैंले गरेको निरन्तर फलोअप र केहीमा भने सुराकीले दिएको सूचनाको आधारमा सुन तस्करलाई नियन्त्रणमा लिइएको बताए ।
नेपालमा विशेष गरी चीनबाट सुन तस्करी हुँदै आएको छ । चीनबाट ल्याएको सुन भारततर्फ तस्करी हुने गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट बरामद गरेको २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र यूरो सुन तस्करीकै लागि रसुवा हुँदै चीन लैजाने तयारी रहेको अनुसन्धानबाट खुलेको थियो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘सुन तस्करीका लागि करोडौं रुपैयाँको कारोबार हुन्छ । तस्करले सकभर जोखिम मोल्न चाहँदैनन्, तस्कर–तस्करबीच नै कुरा नमिलेपछि सूचना प्रहरीसम्म आउने हो ।’
तस्करीमा एउटै गिरोह
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तस्करी गर्दै आएको गिरोहले नै अहिले केरुङ नाकालाई उपयोग गर्दै आएको बुझाइ प्रहरीको छ । तर, ‘सीन’मा आफू नदेखिई उनीहरूले भरिया लगाएर सुन तस्करी गर्दै आएका छन् । कहिले मोटरसाइकलको एयर फिल्टरमा त कहिले ट्रकको सीट अगाडि फल्स बटम बनाएर सुन तस्करी गर्दै आएका छन् ।
यसअघि रसुवा प्रहरीले बा ६८ प ७४५४ नम्बरको मोटरसाइकललाई रोकेर सुरक्षा जाँच गर्दा एयरफिल्टरमा लुकाएर ल्याएको ५ किलो सुन बरामद गरेको थियो । चालक वीरेन लामा भरियाकै रुपमा प्रयोग भएका थिए । लामालाई सुन बोकाएर पठाउने धनीको नाम खुलेन ।
प्रहरी अनुसन्धानबाट लामा यसअघि पनि पटक–पटक चीनबाट केरुङ नाका हुँदै सुन बोकेर ल्याउने व्यक्ति भएको तथ्य खुलेको थियो ।
रसुवाको टिमुरेबाट पक्राउ परेका अर्का भरिया कुङजाङ तामाङबाट ६ किलो सुन बरामद गर्दा उनले पनि आफू भरिया मात्रै भएको बयान दिएका थिए ।
अलि अघि प्रहरीले जोरपाटीबाट बरामद गरेको १० किलो सुन पनि रसुवा नाकाबाटै काठमाडौं भित्रिएको दाबी प्रहरीको थियो ।
त्यसो त भन्सार अधिकृतहरू नै तस्करीका गिरोहसँग मिल्ने गरेको यसअघिका घटनाले पुष्टि गरेका छन् ।
रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत भरतराज अधिकारी सुन तस्करीका नाइके दावा छिरिङसँग उनकै गाडीमा हिँड्ने गरेको र तस्करीको सुन छुटाउन १० लाखको बार्गेनिङ गरेको पाइएको थियो ।
सुन तस्करीसम्बन्धी छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित आयोगले समेत उक्त तथ्य पुष्टि गरेपछि अधिकारीलाई विभागीय कारबाहीको सिफारिस गरिएको थियो ।
१० वर्षमा रसुवा नाकाबाट बरामद भएको सुनको विवरण :