२५ असार २०८३, बिहीबार

गणतन्त्र दिवस मूल समितिको बैठकमा बालेन नआउँदा रिसाए ओली, हटाउन निर्देशन

जेठ ५, २०८२
काठमाडौं
गणतन्त्र दिवस मूल समितिको बैठकमा बालेन नआउँदा रिसाए ओली, हटाउन निर्देशन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली रिसाएका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मूल समारोह समितिको बैठक बसेको थियो । काठमाडौं महानगर प्रमुख समितिको पदेन सदस्य हुन्छन् । तर, बालेन बैठकमा गएनन् । उनी अघिल्लो वर्ष पनि बैठकमा अनुपस्थित थिए ।

बालेनलाई नदेखेपछि रिसाएका प्रधानमन्त्री ओलीले बैठकमा अनुपस्थित हुनेहरूलाई समितिबाट हटाउन निर्देशन समेत दिएका छन् । उनले नाम भने कसैको नलिएको बैठकका एक सहभागीले बताए । 

‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि क्या हो । कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौं । कहिल्यै देखा पर्दैन । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने । यस्तो हुँदैन । अर्को पल्टसम्ममा सोधीखोजी गर्नुहोला । हेर्नुहोला रेकर्ड, को  पटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला । हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने ।’

बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोल भने सहभागी थिइन् । यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि बैठकमा सहभागी थिए ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् । 

सोमबारको बैठकले गणतन्त्र दिवसका अवसरमा यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तह तीनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमिति गठन गरिएको छ ।   

यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्