
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको घटना सम्बन्धमा प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार आपराधिक उपद्रवको कसुरमा १५ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।
त्यसैगरी, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रवसहित पाँच वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको उनले बताए ।
त्यस बाहेक केही व्यक्तिलाई थप मुद्दा पनि लागेको उनले बताए ।
झण्डै २ महिनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा लगेको हो ।
२ जनाको मृत्यु हुनेगरी चैत १५ गते भएको प्रदर्शनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं अहिले प्रहरी हिरासतमै छन् ।