
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन् । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउनुपर्ने बताए ।
गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र-गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने उनको भनाइ छ ।
उनले संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रूपमा लोकतन्त्र-गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जोड दिए । यो पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रूपमा मनाउने तयारी गरेको पनि उनले उल्लेख गरे ।
महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमाका रूपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउन लागेको उल्लेख गरे ।