२९ असार २०८३, सोमबार

शेखरलाई कारबाही गरेर देखाउन गृहजिल्लाका नेता-कार्यकर्ताको चुनौती

जेठ १३, २०८२
विराटनगर
शेखरलाई कारबाही गरेर देखाउन गृहजिल्लाका नेता-कार्यकर्ताको चुनौती

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कारबाही गरेर देखाउन कार्यकर्ताहरूले चुनौती दिएका छन् । 

शेखरको गृहजिल्ला मोरङका नेता-कार्यकर्ताहरूले उनलाई कारबाही गरेर देखाउन नेतृत्वलाई चुनौती दिएका हुन् । 

विराटनगरमा मंगलबार भएको एक कार्यक्रमका प्रमुख अतिथिका रूपमा पुगेका शेखरका अघि नेता-कार्यकर्ताले यस्तो चुनौती दिएका हुन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै नेता कोइरालाले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेका थिए । कांग्रेस सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।  

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा भने तीनै जनालाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको थियो । स्पष्टीकरण सोध्ने विषय उठेपछि इतर समूहका कार्यकर्ता भने रुष्ट बनेका छन् । 

कार्यक्रममा नेपाल महिला संघ मोरङकी अध्यक्ष तथा पूर्वसांसद शान्ता पौडेलले शेखरलाई कारबाही गरेर देखाउन चुनौती दिइन् । 

‘कांग्रेस पदाधिकारीको बैठकबाट जुन निर्णय गरेर सुनाउनु भयो, त्यो लज्जास्पद निर्णय भएको हामीले महसुस गरेका छौं । डाक्टरसाबलाई कारबाही गरेर देखाउनुहोस्, म चेतावनी दिन चाहन्छु,’ उनले भनिन्, ‘सरकारले आतंक मच्चाएको छ । यस्तो सरकारमा कांग्रेस पनि छ भन्नु लाजमर्दो भइसकेको छ । स्वास्थ्य, शिक्षा क्षेत्र कहाँ पुग्यो ? भ्रष्टाचारको मुद्दामा आफ्नै गृहमन्त्री फसेका छन् । उनलाई राजीनामा दिँदा राम्रो हुन्छ भनेर भन्दा कारबाहीको कुरा हुन्छ भने राजनीति कतातिर जाँदैछ ? विचार गर्नुपर्छ ।’ 

कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिप्रसाद माझीले पनि गृहमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने कोइरालाको भनाइमा सहमति जनाए । 

‘गृहमन्त्रीलाई त्यस्तो आरोप लाग्छ भने त्यसको छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ । यो आमजनतालाई पनि लागेको कुरा हो । त्यो भन्दा पार्टीले त्यसलाई अन्यथा लिएको जस्तो देखियो । कठोर निर्णय गर्न खोजेजस्तो, निरंकुशतातिर पार्टीलाई लैजान खोजेजस्तो देखियो,’ माझीले भने, ‘बरु सत्य कुरा बोल्न सक्ने शेखर कोइरालाबाट हामी कांग्रेसका तमाम कार्यकर्ताह खुसी हुनुपर्छ र गर्व गर्न सक्नुपर्छ ।’

ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले पनि कसैले बोल्दैमा कारबाही गर्न खोज्नु प्रजातन्त्रविरोधी हुने बताए । 

‘बाहिर बाहिर प्रजातन्त्रको कुरा गरेर मात्रै कसरी प्रजातन्त्र बच्छ ? व्यवहारमै प्रजातान्त्रिक हुनुपर्छ । बोल्न पाउनु पर्छ’, उनले भने । 

कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल पनि शेखर सहभागी कार्यक्रममा सहभागी थिए । उनले शेखरको प्रशंसा गरेपनि स्पष्टीकरणका विषयमा भने कुनै प्रतिक्रिया जनाएनन् ।  

शेखरले स्यवंले पनि कांग्रेसमा आफ्नो विषयमा भएको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमाथि बैठकमा छलफल होला भन्ने अपेक्षा गरेको तर आफ्ना विषयमा छलफल भएको भन्दै आश्चर्य व्यक्त गरे । 

‘मैले त हिजो सोचेको थिएँ, कांग्रेस पदाधिकारीको बैठकमा प्रधानमन्त्री केपी ओलीजीले १५ गतेको राजावादीको आन्दोलनमा काठमाडौंलाई एमालेकरण गर भनेर भनेको विषयमा छलफल होला । तर, मेरो बारेमा छलफल भएछ । मलाई खुसी लाग्यो । हामी कहाँ पुगिसकेका रहेछौं ? हाम्रो नैतिकता कहाँ पुगिसकेको छ ? हाम्रो संस्कार कहाँ पुगिसकेको छ ?,’ कोइरालाले भने, ‘अझै पनि हाम्रा नेतृत्वले बुझ्न सक्नु भएन भने हामी अझै डुब्दै जान्छौं । समाल्नुहोस् । नेतृत्व जसले गरिरहनु भएको छ उहाँहरूले समाल्नुहोस् । हामीले त सम्झाउने हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्