
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाइनु राम्रो नभएको टिप्पणी गरेका छन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीस्थित देउखुरीमा प्रदेश सरकारका प्रशासनिक भवनतर्फ संकेत गर्दै उनले खेतीयोग्य भूमि मासेर अनुत्पादक लगानी राम्रो नहुने बताएका हुन् । देउखुरीका ‘मिनी सिंहदरबार’ राज्यको ठूलो लगानी र उब्जनी गर्ने ठाउँमा प्रयोगमा ल्याउन राम्रो नभएको बताएका हुन् ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख घर्तीले भने, ‘म राजधानी देउखुरी हुन हुँदैन भन्नेसँग सम्बन्धित छैन । पेटभरि खाना उब्जाउने खेत मासेर दरबार बनाउनुको अर्थ छैन ।’
उत्पादन नहुने ठाउँलाई प्रयोग गर्नुपर्ने उनको सुझाव छ । अहिले भारतीय नाकाबाट सहज रुपमै खाद्यान्न आयात भएकाले खाना पाइरहेको सन्दर्भ उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा खेतीयोग्य जमिन मास्दा क्षति हुने संकेत गरे । ‘नाका खुलेको छ, कुहिएको भए पनि खाना पाएका छौं,’ प्रदेश प्रमुख घर्तीले भने ।
उनले जनप्रतिनिधिहरू मितव्ययी हुनुपर्ने बताए । घर्तीमगरले आफूले सांसद पद पटक-पटक अस्वीकार गरेको बताउँदै प्रदेश प्रमुखका रूपमा बाँधिन विवश भएको बताए । मानवअधिकार रक्षाका सन्दर्भमा गीतबाट भाषण शुरू गरेका प्रदेश प्रमुख घर्तीले आफूले सुधारका लागि बोल्ने गरेको बताए ।
उनले प्रदेश प्रमुख भएको १० महिनाको अवधिमा एक पटक पनि हवाई जहाज नचढेको, बुटवलका २ वटा केबलकार पनि नचढेको र भत्तालगायतका सुविधा नलिएको बताए । ‘१० महिनामा एक पटक पनि हवाईजहाज चढेको छैन, बुटवलदेखि नुवाकोट हिँडेर गएँ । केबलकार चढेको छैन, भ्रमण भत्ता पनि लिएको छैन’ उनले भने, ‘अनावश्यक र फजुल खर्च कटौती ठूलाबडाले नै गर्नुपर्छ ।’
उनले प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायलाई जनतामा आशा जगाउने गरी काम गर्नका लागि अनुरोध गरे । उनले नेपाल विविधायुक्त समाज भएकाले मानवअधिकार संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए ।