०८ साउन २०८३, शुक्रबार

योजना तथा बजेट निर्माणका लागि उपयोगी विकासमूलक पुस्तक ‘समृद्धिको हुटहुटी’

जेठ १३, २०८२
काठमाडौं
योजना तथा बजेट निर्माणका लागि उपयोगी विकासमूलक पुस्तक ‘समृद्धिको हुटहुटी’

सफल बैंकिङकर्मी, बैंकिङ क्षेत्रका ज्ञाता तथा सहभागीमूलक विकासकर्मी अश्विनकुमार पुडासैनीले दोस्रो पुस्तक ‘समृद्धिको हुटहुटी  : सुशासन र समृद्धिका लागि १०१ पाइला’ पुस्तक लेखेका छन् । 

दिव्य देउराली प्रकाशन प्रालिद्वारा प्रकाशित पुस्तकमा नेपाललाई विकास र समृद्धिको मार्गमा अग्रसर गराउन आवश्यक सुशासनका १०१ मूल मर्महरूलाई बुँदागत रूपमा विस्तारपूर्वक स्पष्ट गरिएको छ ।

सोचौं त! नेपाल आमाका युवा छोराछोरीहरू आफ्नै देशमा उद्यम गरेर आफ्नो भविष्यप्रति निश्चिन्त हुने वातावरण सरकारले बनाउन सके कति राम्रो हुन्थ्यो होला? नेपालमा सबैका लागि पहुँचयोग्य, समावेशी र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको सुनिश्चिता व्यवहारमा लागू कसरी होला ? पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित कसरी होला ? आर्थिक समृद्धि र युवा उद्यमशीलता पर्यटन, जलशक्ति, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानीका लागी योजना र बजेट सकारात्मक प्रभाव कसरी पार्न सक्छ ? विकास र सुशासन सम्बन्धी आशा जगाउने यस्ता प्रश्नहरूको परामर्श शैलीमा छोटो र मीठो भाषामा पाना भरिएका छन् । 

अर्थशास्त्री तथा भारतीय रिजर्व बैंकका पूर्वगभर्नर रघुराम राजनले भनेका छन्, ‘बलियो सरकारको अर्थ केवल सैन्य शक्ति वा कुशल गुप्तचर संयन्त्र मात्र हुनु होइन । यसको अर्थ त बरु प्रभावकारी, निष्पक्ष प्रशासन हुनुपर्छ । अर्को शब्दमा, ‘सुशासन’  नै बलियो सरकार हो । हुन पनि, बजेट र योजनामा सुशासन भनेको सार्वजनिक कोष विनियोजन र व्यवस्थापन गर्ने प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र सहभागिता सुनिश्चित गर्नु हो । यसमा बजेट तयारी, कार्यान्वयन र निरीक्षणको लागि स्पष्ट दिशानिर्देशहरू स्थापना गर्नुका साथै यी प्रक्रियामा नागरिक र नागरिक समाजलाई संलग्न गराउनु समावेश छ ।

यस सन्दर्भमा सुशासनले स्रोतहरूको कुशल र प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्ने, भ्रष्टाचार घटाउने र सरकारमा जनताको विश्वास निर्माण गर्ने लक्ष्य राख्छ । सुशासनका यी सिद्धान्तहरूलाई समावेश गरेर, सरकारले दिगो र समतामूलक विकास प्राप्त गर्न आवश्यक पर्ने थप पारदर्शी, जवाफदेही र सहभागितामूलक बजेट र योजना प्रक्रिया सिर्जना गर्न सक्छन् । यिनै कुरालाई  लेखकले यस पुस्तकमा जोड दिएका छन् ।

लेखकले यस पुस्तकमा राजनीतिक दलको घोषणापत्रको चिरफार, सरकारको वार्षिक कार्ययोजना, नीति र बजेटको विकाससम्मका बुँदागत रूपमा सरकारलाई परामर्श  दिएका छन्, जसले प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने देखिन्छ । योजना र रणनीतिक मार्गदर्शन प्रदान गर्नुका साथै लेखकले यस  पुस्तकमार्फत् राष्ट्रसेवक कर्मचारी राजनीति, सुरक्षाकर्मी र योजना लागू गर्न आइपर्ने जटिलता र यसका सुझाव महत्त्वपूर्ण लाग्दछन् । नेपालका नदीनाला, ताल, पोखरी, झरना र वन जस्ता नेपालको प्रचुर जलस्रोतहरूको दिगो व्यवस्थापनको बारेमा योजनाकर्मीलाई सोच्न बाध्य बनाएको छ । यसबाहेक, यसले फोहोर व्यवस्थापन, भूमि बैंकको स्थापना र नवीन समाधानहरूलाई प्रवर्द्धन गर्न आइडिया बैंकको सिर्जना जस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गरेका छन् । 

मैले तिरेको कर मेरै लागि, एक सय एक नयाँ शहर, निर्वाचन प्रणालीमा सुधारमा समेत जोड दिइएको छ  । पुस्तकमा प्रत्येक नेपालीको बैंक खाता, जन्मदर्तासँगै स्वास्थ्य बीमा, एउटै नेशनल पेमेन्ट गेटवे सिस्टम,  कागजी नोट सयको मात्र बनाउन समेत सुझाइएको छ । सरकारको वार्षिक कार्ययोजनामा प्रतिबिम्बित र व्यावहारिक बनाउनुपर्ने कुरामा लेखकले जोड दिएका छन्, जसले जवाफदेहिता र प्रभावकारी शासन सुनिश्चित गर्दछ ।

लेखकले यस पुस्तकमार्फत् समाजमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, उनीहरूलाई ज्ञानको बहुमूल्य भण्डारको रूपमा मान्यता दिने र युवा पुस्तालाई उनीहरूको ज्ञानको प्रभावकारी हस्तान्तरण सुनिश्चित गर्ने महत्त्वलाई उजागर गरेका छन् । वृद्धवृद्धाहरू अनुभव, बुद्धिमत्ता र सांस्कृतिक सम्पदाको खजाना हुन् । उनीहरूको संरक्षण र समर्थनले उनीहरूको बहुमूल्य ज्ञान युवा पुस्ताहरूमा हस्तान्तरण हुन्छ भन्ने कुरा सुनिश्चित गर्दछ, जसले सामाजिक निरन्तरतालाई बढावा दिन्छ । 

सरकारले पहुँचयोग्य स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र उमेरमैत्री पूर्वाधार प्रदान गर्ने लगायत व्यापक योजनामार्फत् उनीहरूलाई प्राथमिकतामा राख्नुपर्छ । नियमित अन्तरक्रिया, पहिचान र निर्णय प्रक्रियामा संलग्नताले उनीहरूलाई खुसी, सम्मानित र समाजमा एकीकृत राख्न सक्छ ।

योजना तथा पर्यटनविद् डा. चेतनाथ कणेलले यस पुस्तकका बारेमा भन्छन्, ‘यस पुस्तकले समृद्धि र सुशासनका लागि मार्गदर्शन गरेको छ । तथापि, समृद्धि र सुशासनमा के गर्ने भन्ने कुरामा प्रशस्त सूचीगत संकेत प्राप्त हुने भएकाले त्यस क्षेत्रमा गहिरिएर काम गर्ने र योजना बनाउनेका लागि थप सन्दर्भ सामग्रीको अध्ययन त गर्नैपर्छ ।  मूल कुरा लेखकले यो देश बन्छ र हाम्रै पालामा बन्नुपर्छ भन्ने मार्मिक सन्देश दिन सफल भएका छन् ।

करिब दुई वर्षअघि कर्णाली प्रदेशस्थित नेपाल बैंकको शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा एक्कासी हृदयघात भएपश्चात् मृत्युको मुखबाट बाँचेका पुडासैनीले ‘यो मेरो दोस्रो जन्म हो’ भन्दै आफूलाई राष्ट्रको सेवा र विकासमा सुम्पेका उनको यस पुस्तक पढ्ने पाठकले आफूले पनि राष्ट्रका निम्ति केही योगदान गर्ने पाए हुन्थ्यो भन्ने प्रेरणा प्राप्त गर्दछन् । पहिलो कृति ‘बत्तीमुनिको उज्यालो’ पुस्तक प्रकाशित गरेका उनले यस पुस्तकमा सुशासनलाई केन्द्रविन्दुमा राखेर नेपालको समृद्धिको सपना पूरा गर्नका लागि दिशानिर्देश दिएको महसुस हुन्छ । 

देशको सुशासन, समृद्धिका लागि आवश्यक तत्वबारे चर्चा गरिएको यस पुस्तक नेपाली समाज, राजनीतिज्ञ, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, योजनाविद्, अनुशन्धानकर्ता, नीति विश्लेषक, विकासकर्मी साथै नेपालको विकासमा चासो राख्ने हरकोहीका निम्ति यो पुस्तक उपयोगी हुने देखिन्छ । व्यक्तिगत ३७५ र संस्थागत ५०० रूपैयाँ मूल्य रहेको यस पुस्तकमा लगभग १५० पृष्ठ छन् । यस पुस्तकको बिक्रीबाट प्राप्त रकममध्ये केही मुटुसम्बन्धी उपचारमा सामाजिक योगदान गर्ने लेखकको प्रतिबद्धता प्रशंसनीय छ । लेखकले देखेका नेपालको विकास, सुशासन र समृद्धिका सूत्रहरूले हाम्रै पालामा सार्थकता पाऊन् भन्ने शुभकामना ! 

पुस्तकको नाम : समृद्धिको हुटहुटी  : सुशासन र समृद्धिका लागि १०१ पाइला
लेखक : अश्विनकुमार पुडासैनी
प्रकाशक : दिव्या देउराली प्रकाशन (२०८०) काठमाडौं ।
मूल्य : रू. ३७५/– व्यक्तिगत
         रू. ५००/– संस्थागत 

[लेखक कनौजे बैंकिङ क्षेत्रमा कार्यरत छन् ।]


 

salt training

कमेन्ट गर्नुहोस्