०४ साउन २०८३, सोमबार
बालुवाटार बैठक

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने कांग्रेस–एमालेको निष्कर्ष

जेठ १४, २०८२
काठमाडौं
गृहमन्त्रीले राजीनामा दिनु नपर्ने कांग्रेस–एमालेको निष्कर्ष
फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखकसहितको बैठकले राजनीतिकरण गर्न खोजिएको विषयमा राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

‘उपसभामुखमाथि गम्भीर प्रश्न उठ्दा राजीनामा दिइनन् । उनीमाथि त आफैंले सरकारी लेटरहेड दुरुपयोग गरी मानिसहरूलाई विदेश पठाउन खोजिएको थियो । तर त्यत्ति गम्भीर विवादमा उनले अझैसम्म राजीनामा दिएकी छैनन् । मानव तस्करी नै हो भने त उपसभामुखमाथि झन् धेरै प्रश्न उठ्नुपर्ने होला नि,’ बालुवाटार स्रोतले भन्यो, ‘जसले अभियोजन गर्ने, छानबिन गर्ने हो उसले केही भनेको छैन । प्रमाण आएको छन्, प्रत्यक्ष विवादका विषय आउने, बयान हुने र मुद्दाका प्रक्रियासम्म अघि बढ्ने अवस्था छैन । गृह मन्त्रालयका कर्मचारीमाथि प्रश्न उठेकाले छानबिन भइरहेको छ । तर विनातथ्य प्रमाण गृहमन्त्रीले राजीनामा दिनुहुन्न । उहाँले के भएको हो भनेर संसद्‌मा बोल्छु भन्नुभएको छ ।’

तर विपक्षीले भिजिट भिसा प्रकरणमा प्रश्न उठेको भन्दै गृहमन्त्रीको राजीनामा माग गर्दै मंगलबार संसद् अवरुद्ध गरे ।

बालुवाटार स्रोतले रवि लामिछाने अभियुक्त भएकाले मुद्दा अघि बढे पनि गृहमन्त्री लेखकको हकमा त्यस्तो उजुरी र प्रमाण केही नभएको बतायो । ‘अहिले गृह मन्त्रालयका कर्मचारीमाथि प्रश्न उठेको हो, तर यसलाई राजनीति गर्न खोज्दा समस्या भयो,’ स्रोतले भन्यो, ‘रविमाथि त पर्याप्त प्रमाण भएकोले छानबिनको दायरामा आएका हुन् । उनी प्रत्यक्ष जोडिएको विषय भएकोले मुद्दा पनि अगाडि बढेको हो ।’

तथ्य प्रमाणविना कर्मचारी जोडिएको विषयमा राजीनामा दिँदै जाने हो भने कुनै पनि मन्त्रालय चल्नै नसक्ने नेताहरू बताउँछन् ।

पार्टी र संसद् सचिवालयसँग सम्बन्धित नै रहेको केही युवालाई भिसाको लागि अन्तर्वार्ता मिलाइदिन भन्दै उपसभामुख रानाले गत साउनमा अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । यसपछि राजीनामा दिन दबाब परे पनि रानाले अहिलेसम्म राजीनामा दिएकी छैनन् ।

बालुवाटार बैठकले बजेट अधिवेशन विशेष अवस्था रहेको भन्दै संसद्‌मा अवरोध खोल्ने वातावरण बनाउन विपक्षी दलहरूलाई आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्