
बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने दोलखा भीमेश्वर नगरपालिका-३ घर भएका ३५ वर्षीय बाबुराम खत्री र काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने उदयपुर कटारी नगरपालिका-५ घर भएकी २५ वर्षीया दीपा ढुंगाना रहेका छन् ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा जेठ ६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका बाबुरामलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सिफलबाट पक्राउ गरेको हो ।
साथै, सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा २०८१ माघ २८ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी दीपालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये बाबुरामलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला र दीपालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।