
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छिन् । दशभन्दा बढी बैठकमा अनुपस्थित भएपछि गुरुङलाई कारबाही गर्दै पदमुक्त गरिएको हो ।
बेलायतमा बस्दै आएकी गीताले श्रीमान् कैलाश गुरुङमार्फत वैशाख अन्तिम साता राजीनामा दिएको पत्र सार्वजनिक गरेकी थिइन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सांसद गीता गुरुङ बुधबारदेखि पदमुक्त भएको जानकारी दिए ।
गुरुङ पछिल्लो समय साढे २ महिनादेखि प्रदेशसभालाई जानकारी नदिई छोराछोरीसँगै बेलायतमा बस्दै आएकी छिन् ।
गुरुङ निर्वाचित भएको जनमत पार्टीको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाएर लगातार १० बैठकमा अनुपस्थित भएकाले आवश्यक कानूनी प्रक्रिया पूरा गरी पद रिक्त गर्न आग्रह गरेका थिए ।
प्रदेशसभा सचिवालयका अनुसार संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभाका एक पद रिक्त भएको जानकारी गराएको छ । लुम्बिनी प्रदेशसभामा ८७ सदस्य छन् ।
लुम्बिनी प्रदेशसभामा गुरुङ सबैभन्दा कम उपस्थित हुने प्रदेशसभा सदस्य हुन् ।
जनमत पार्टीका लुम्बिनी प्रदेशसभामा तीन जना सांसद छन् ।