
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा दुरुपयोग प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्टाएका छन् ।
संसद्मा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै लेखकले आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको बताएका हुन् ।
‘भिजिट भिसा दुरुपयोगका विषयमा मन्त्रीको संलग्नता छ भन्ने ढंगले प्रचार प्रसार, समाचार, सामाजिक सञ्जालमा टिप्पणी आएका छन्,’ उनले भने, ‘यो असत्य हा । बेठीक हो । मेरो कुनै संलग्नता छैन । मेरा विरुद्धमा नियोजित, षडयन्त्रमूलक ढंगले राजनीतिक पूर्वाग्रह देखाइयो ।’
विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसा दुरुपयोग प्रकरणका विषयमा सदनमा कुरा राख्न नपाएको समेत उनले बताए ।
‘यो विषयमा बोल्न हिजो नै आग्रह गरेको थिएँ । हिजोको बैठकमा कुरा राख्ने प्रयत्न गरेँ । आज पनि समय माग गरेको थिएँ, भएन,’ लेखकले भने, ‘व्यक्तिगत जीवन सार्वजनिक जीवन हो । थप केही भनिरहनु परेन । सावजनिक पद धारण गरेपछि प्रश्न उठ्न सक्छन् । मेरो मन्त्रालयका बारेमा केही प्रश्न उठेका छन् । यसैले आफ्ना धारणा राख्न आवश्यक सम्झेको हुँ ।’
उनले जेठ ८ गते अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछका लागि बोलाएको, मोबाइल र डिभाइस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको लागि जफत गरेको मिडियाबाटै थाहा पाएको पनि बताए ।