३० जेठ २०८३, शनिबार
गणतन्त्र दिवसमा एमालेको उत्सव र राप्रपाको आन्दोलन

एकैदिन दुईथरि प्रदर्शन : तीनकुने घटना दोहोरिन नदिन काठमाडौंमा 'हाइअलर्ट'

जेठ १५, २०८२
काठमाडौं
एकैदिन दुईथरि प्रदर्शन : तीनकुने घटना दोहोरिन नदिन काठमाडौंमा 'हाइअलर्ट'

गणतन्त्र दिवसको दिन आज (बिहीबार) काठमाडौंमा सत्तारूढ नेकपा (एमाले) र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । 

एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा झाँकीसहित मनाउन विशेष कार्यक्रम गर्दैछ भने राप्रपाले गणतन्त्रको विरोध र राजसंस्था पुनर्बहालीको मागसहित आन्दोलन गर्न लागेको हो । 

एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो ।

एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरू गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकले प्रदर्शनलाई मुठभेडमा परिणत हुने नदिने र निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । 

त्यस्तै, प्रहरीलगायत सुरक्षाकर्मीलाई संयमतापूर्वक खटिन निर्देशन दिने र आवश्यकताअनुसार बल प्रयोग गर्ने निर्णयसमेत सुरक्षा समितिले गरेको छ । 

गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको अराजक प्रदर्शनले पुर्‍याएको मानवीय र भौतिक क्षति बिहीबारको प्रदर्शनमा दोहोरिन नदिन गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारीलाई निर्देशन दिएका छन् । 

बुधबार बिहान काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान कार्यालयका प्रमुखसँगै प्रहरी वृत्त र प्रभागका प्रमुखलाई डाकेर बिहीबारको प्रदर्शनमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिएका थिए । 

उपत्यका छिर्ने नाकाहरू नागढुंगा, बालाजु बाइपास, फर्पिङ र भक्तपुरको जगातीदेखि नै मानिसहरूको ‘स्क्रिनिङ’ गर्ने तयारी प्रहरीको छ । हाइप्वाइन्ट ड्यूटी राखेर प्रदर्शनस्थलमा दूरवीनमार्फत सूक्ष्म निगरानी गर्ने र ड्रोनमार्फत समेत प्रदर्शनस्थलको निगरानी गर्ने तयारी प्रहरीको छ ।

प्रहरीले पानीको फोहोरा फाल्न वाटर क्यानन तयारी अवस्थामा राखेको छ । प्रदर्शनस्थलमा सुरक्षाकर्मी रबरको गोली र ग्यास गन (अश्रुग्यास) बोकेर खटिनेछन् । रिजर्भ फोर्सको रूपमा उपत्यकाका गण र गुल्मलाई तयारी अवस्थामा राखिएको छ । 

प्रदर्शनस्थलमा नेपाल प्रहरीको ‘ब्याकअप फोर्स’का रूपमा सशस्त्र प्रहरी खटिनेछन् । 

राष्ट्रिय मानव अधिकार आयोगले आज हुने गणतन्त्र पक्षधर र राजतन्त्रवादीको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्