
गणतन्त्र दिवस २०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्पूर्ण नेपाली जनतालाई शुभकामना दिँदै गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतान्त्रिक शक्तिहरूबीचको बलियो एकता र सहकार्य अपरिहार्य भएको बताएका छन्।
बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई गणतन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले गणतन्त्र प्राप्तिका क्रममा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता र घाइते योद्धाहरूको त्याग तथा समर्पणप्रति उच्च सम्मान प्रकट गरेका छन्।
उनले नेपाली जनताको वीरतापूर्ण संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको उल्लेख गर्दै, यस व्यवस्थाले उत्पीडित समुदायहरूलाई समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी ‘प्रजा’ होइन ‘नागरिक’ को हैसियत दिएको बताए।
तर, गणतान्त्रिक संविधानले दिएको मौलिक हकको पूर्ण कार्यान्वयन र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको कार्य अझै अपूरो रहेको भन्दै उनले त्यसका लागि अझ गम्भीर पहल आवश्यक रहेको बताए।
प्रचण्डले गणतन्त्र स्थापनाको जग जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको बलबाट बनेको स्मरण गर्दै भने, "गणतन्त्रविरुद्ध सल्बलाउने प्रतिगामी तत्वहरू सक्रिय भइरहेका छन्। त्यसकारण यथास्थिति र प्रतिगमनविरुद्ध संघर्ष गर्दै अगाडि बढ्न गणतान्त्रिक शक्तिहरू एकताबद्ध हुन जरुरी छ।"
उनले गणतन्त्र दिवसले सबैमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गरी जनताको अवस्था बदल्ने अभियानमा समर्पित रहन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।