
यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने भएको छ । प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको आसाम र नेपालको नजिक मनसुनी जलवाष्पसहितको न्यूनचापीय प्रणालीको प्रवेश भइसकेको छ । त्यस्तै बङ्गलादेश र भुटानका पूर्वी भेगमा मनसुन फैलिसकेको छ । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ तारिख हो । भूउपग्रह, वायुमण्डलीय र मौसम मोडेलबाट प्राप्त सूचना अनुसार पनि अबको दुई दिनभित्र नेपालमा मनसुन भित्रने तय रहेको महाशाखाले प्रस्ट पारेको खबर गोरखापत्रले छापेको छ ।