
हेटौँडा, १८ मंसिर - प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नं २ का उम्मेदवार एवं नेकपा (एमाले) का नेता विरोध खतिवडाले वाम गठबन्धनले सहजरुपमा दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
मनहरी वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा आज उहाँले वामपन्थीको प्रदेश र केन्द्र सरकार बनेपछि स्वास्थ्य, शिक्षा, रोजगारी, विकास निर्माण लगायतका कामले तीव्रता लिने ग्यारेन्टी गर्नुभयो ।
कार्यक्रममा निवर्तमान सभासद् नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण विडारीले अरु देश प्रविधिको विकासमा अघि बढ्दा नेपाल भने काँग्रेसले जालमा राखेकाले विकास हुन नसकेको दाबी गर्नुभयो ।
मकवानपुर क्षेत्र नं २ प्रदेशसभा (ख) का उम्मेदवार राजाराम स्याङ्तानले यस क्षेत्रको भेगीय विकासका लागि आफूले योजना निर्माण गरेको, कतिपय योजना कार्यान्वयनमा रहेको र कतिपय तयारी अवस्थामा रहेकाले ती सबै काम पूर्ण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नं २ को प्रदेशसभाका समानुपातिक उम्मेदवार ओम घलान प्रदीप, काँग्रेसका पूर्वजिल्ला सचिव विष्णु दाहाल, एमालेबाट निर्वाचित वडाअध्यक्ष अनिल बानियाँ लगायतले गठबन्धन विजयी हुनुपर्नेमा जोड दिनुभएको थियो ।