२० असार २०८३, शनिबार

राजावादीको कार्यक्रममा सहभागी नहुन दुर्गा प्रसाईं समूहको निर्देशन

जेठ १५, २०८२
काठमाडौं
राजावादीको कार्यक्रममा सहभागी नहुन दुर्गा प्रसाईं समूहको निर्देशन
फाइल फोटो

दुर्गा प्रसाईंको महाअभियानले राप्रपासहितका राजावादी गणतन्त्रविरुद्ध आज गर्न लागेको प्रदर्शनमा सहभागी नहुने कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।​

राष्ट्रिय, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले विज्ञप्ति जारी गर्दै राप्रपासहितले गर्ने प्रदर्शनमा आफूहरूको सहकार्य नभएकाले सहभागी नहुन निर्देशन दिएको हो । 

अध्यक्ष प्रसाईं प्रहरी हिरासतमा रहेकाले उक्त कार्यक्रममा सहभागी नहुने महाअभियानले जनाएको छ ।

‘महाअभियान नेपालको अध्यक्ष श्री दुर्गा प्रसाईंलगायत गैरकानूनी रूपमा प्रहरी हिरासतमा रहनुभएका महाअभियानका नेतृत्वहरूलाई शीघ्र रिहाइको माग राखी काठमाडौंको माइतीघर मन्डलामा २०८२ जेठ १२ गतेबाट नागरिक बचाऊ महाअभियान नेपालले शान्तिपूर्ण रूपमा गरिएको सत्याग्रह आन्दोलन जेठ १५ गते स्थगित गरिएको छ,’ अभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘जेष्ठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनआन्दोल भएकोले हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोधसहितको निर्देशन गर्दछौं । कुनै घटना भएमा महाअभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।’

जेठ १६ गतेबाट पुनः निरन्तर रूपमा माइतीघर मन्डलामा प्रदर्शन गरिने महाअभियानले जनाएको छ ।

चैत १५ गते भएको आन्दोलन हिंसात्मक बनेपछि प्रसाईं यतिखेर प्रहरी हिरासतमा छन् । पूर्वराजासँगकै समन्वयमा आफूले आन्दोलन गरे पनि राजावादी समूह र दलहरूले प्रसाईंलाई बेवास्ता गरेका छन् । 

कुनै पनि राजावादी र राप्रपाका नेता आफूलाई भेट्न नआएपछि प्रसाईं असन्तुष्ट हुन थालेका छन् ।

यस अघि प्रसाईं कमान्डर भएको आन्दोलन हिंसात्मक भएपछि राप्रपा, राप्रपा नेलालसहितका दलले राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाका लागि आजबाट जनआन्दोलनको घोषणा गरेका छन् । २ बजेपछि राप्रपाको प्रदर्शन शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्