
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि प्रस्तुत गरेको १९ खर्ब ६४ अर्ब ११ करोडको संघीय बजेटमा यसअघि चर्चा भएका कतिपय कुराहरू उल्लेख भएनन् ।
बिहीवार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत बजेटमा 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षालाई साकार पार्ने लक्ष्य राखिए पनि बाहिर चर्चामा रहेका केही विषय भने समेटिएनन् । जसआधारमा सरकारले केही सरप्राइज दिनेगरी बजेट ल्यायो ।
शेयर कारोबारीका लागि पूँजीगत लाभकर वृद्धि, विद्युतीय सवारी (ईभी)मा कर वृद्धि र कर्मचारीको तलब वृद्धिजस्ता चर्चित विषयहरू बजेटमा समावेश नहुँदा निजी क्षेत्र र अन्य सरोकारवालाले मिश्रित प्रतिक्रिया दिएका छन् ।
यद्यपि, बजेटले कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै उत्पादनमूलक क्षेत्रमा लगानी र रोजगारी सिर्जनालाई जोड दिएको छ ।
0000
सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने भएको छ ।
बिहीबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सो प्रस्ताव गरिएको हो ।
0000
सरकारले आर्थिक विधेयकमार्फत सुन बिक्री गर्दा लाग्ने शुल्कको दायरा विस्तार गरेको छ। अबदेखि सुन बेच्दा २ प्रतिशत विलासिता कर लाग्नेछ।
0000
सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मुलुकलाई निर्धारित समयअगावै सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची रहेको उल्लेख छ ।
0000
राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादी समूहले शुक्रबार माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने प्रदर्शनमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संगठन सहभागी हुने र राप्रपाका प्रवक्ता रगुन लावतीले जानकारी दिएका छन्।
यसअघि बिहीबार राजधानीको शान्तिबाटिकामा पनि यिनै समूहले प्रदर्शन गरेका थिए। उनीहरूले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना, संघीयता खारेजी लगायतका माग अघि सार्दै अनिश्चितकालीन आन्दोलन सुरु भएको घोषणा गरेका छन्।
0000
सरकारले वातावरणमैत्री र दिगो यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्युतीय सवारी साधन (ईभी)मा लगाइएको कर तथा महसुल यथावत् राख्ने निर्णय गरेको छ। पौडेलले विद्युतीय सवारीसाधनमा कुनै पनि नयाँ कर थप नगर्ने र हाल कायम करको दरलाई यथास्थितिमा राखिने स्पष्ट पारे।
0000
सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि दिने घोषणा गरेको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले अब ७० वर्ष उमेर पुगेपछि मात्र वृद्धभत्ता पाउने बताएका हुन् । यसअघि ६८ वर्ष पुगेपछि वृद्धभत्ता दिने व्यवस्था थियो ।
0000
सरकारले राज्य कोषबाट सुविधा प्राप्त गर्ने प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीको तलब तथा सेवा सुविधामा पुनरावलोकन गरेर एकरूपता ल्याउने भएको छ ।
पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै तीन महिना भित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सिफारिस समिति गठन गरिने बताए ।
0000
सरकारले कर्मचारीका लागि महंगी भत्ता ५ हजार रुपैयाँ पुर्याएको छ । तलब वृद्धि गर्न सम्भव नभएको भन्दै महंगी भत्ता बढाइएको हो ।
0000
नेपाल सरकारको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत हुने अनुमान गरिएको छ ।
मधेश, कोशी र सुदूरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धि राष्ट्रिय औसतभन्दा माथि रहेको छ । चालु वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रूपैयाँ पुग्नेछ ।
0000
नेकपा एमालेले गणतन्त्र स्थापना भएर १८औं वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाएको छ ।
गणतन्त्र उत्सवका लागि बिहीबार विभिन्न ठाउँबाट झाँकीसहितको र्याली भृकुटीमण्डप पुगेर खुसीयाली मनाइएको छ । यसैगरी सरकारले पनि टुँडिखेलमा गणतन्त्र दिवस मनायो।