
सशस्त्र प्रहरी बल सिरहाले शुक्रबार र आज भन्सार छली गरेर ल्याइएका विभिन्न सामग्री बरामद गरेको छ ।
सिरहा नगरपालिका–२१ लगडिगदियानीस्थित नं ७ गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक विष्णुप्रसाद गौतमको कमान्डमा खटिएको १० जनाको गस्ती टोलीले नेपालबाट अवैध रूपमा भारतीय नं प्लेटका चारवटा मोटरसाइकलमा राखी भारततर्फ लैजाँदै गरेको रु ८९ हजार ६०० मूल्य बराबरको ३२० किलो स्याउ र रु चार लाख मूल्य बराबरको चार थान मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।
सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार शुक्रबार सिरहा–२० स्थित नं ७ गणका सशस्त्र प्रहरी निरीक्षक दिनेश बम्जनको कमान्डमा खटिएको चार जनाको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको रु एक लाख ६९ हजार ८०० मूल्य बराबरको कपडा र सुनचाँदी राख्ने बट्टा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले शुक्रबार सिरहा–१७ स्थित माडर बसपार्क नजिक प्रसीसु गुल्म माडरबाट सशस्त्र प्रहरी नायब निरीक्षक चुडामणि काफ्लेको कमान्डमा खटिएको टोलीले रु ३६ हजार १५० मूल्य बराबरको कपडा बरामद गरेको छ ।