२९ असार २०८३, सोमबार

अन्नपूर्ण आरोहणको हीरक महोत्सव यसरी मनाईँदै

जेठ १८, २०८२
म्याग्दी
अन्नपूर्ण आरोहणको हीरक महोत्सव यसरी मनाईँदै

अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको  छ ।  आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशविन्दु नारच्याङ बेँसीमा स्वागत गरेर हिरक महोत्सव शुभारम्भ गरिएको छ । 

आजदेखि सुरु हुने पदयात्रा टोलीमा सहभागी हुन आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग छोरा फ्रान्सका माथिएस हर्जोगलगायत १४ विदेशी, पर्यटन व्यवसायी, पत्रकारको टोलीलाई अन्नपूर्ण–४ वडा कार्यालय, अन्नपूर्ण, जनजागरण युवा क्लब र सिर्जनशील आमा समूहले स्वागत गरेका थिए । 

माथिएस हर्गोजसँग आएका फ्रान्सका कलाकारहरूले प्रथम आरोहीको सम्मानमा सङ्गीत प्रस्तुत गरेका थिए । उनीहरूले यही जेठ १९ गते साँझ अन्नपूर्ण आधार शिविरमा पनि साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ । प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना पाहुना सरकारको निमन्त्रणामा हीरक जयन्तीको कार्यक्रममा सहभागी हुन आएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए ।  

उनका अनुसार नारच्याङ बेँसीबाट हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै यही जेठ १९ गते चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने मौरिस हर्जोग पदमार्गको पदयात्रा टोलीमा करिब दुई सय जना सहभागी छन् । 

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा  जेठ २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक महोत्सव मनाइने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्