
बैंगलुरुको चिन्नास्वामी रंगशालामा भएको भागदौडमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)का सात जना समर्थकको मृत्यु भएको छ।
१८ वर्षपछि पहिलो पटक आईपीएल उपाधि जितेको खुसीमा आयोजना गरिएको विजय र्यालीका क्रममा भीड नियन्त्रणबाहिर जाँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकमध्ये एक जना महिला रहेको जनाइएको छ। घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन्, जसलाई उपचारका लागि नजिकैको बोवरीङ अस्पताल लगिएको इन्डियन एक्सप्रेसले लेखेको छ ।
रंगशालाको गेट खुल्नासाथ ठूलो संख्यामा समर्थकहरू भित्र प्रवेश गर्न खोजेपछि भागदौड मच्चिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई लाठीचार्ज समेत गर्नुपरेको थियो।
बुधबार दिउँसो आरसीबी टोली बैंगलुरु आइपुगेको थियो । विराट कोहली लगायतका खेलाडीलाई हेर्न हजारौं समर्थकहरूले सडक र रंगशालाको चोक टालेर स्वागत गरेका थिए।
आरसीबीले मंगलबार राति अहमदाबादमा भएको आईपीएलको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।