०८ असार २०८३, सोमबार

काभ्रेको चिहानडाँडामा बस दुर्घटना, एक महिलाको मृत्यु

जेठ २१, २०८२
काठमाडौं
काभ्रेको चिहानडाँडामा बस दुर्घटना, एक महिलाको मृत्यु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ चिहानडाँडा नजिक बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

पनौती बसपार्कबाट मेदाम्चुतर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस बुधबार साँझ करिब ५:४० बजे सडकबाट करिब ३०–३५ मिटर तल खस्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार बसमा चालक र सहचालकसहित सात जना सवार थिए।

दुर्घटनामा परेर काभ्रेको बनेपा नगरपालिका–९ की ६५ वर्षीया कृष्णमाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

बसका चालक बेथानचोक–६ का ४१ वर्षीय रामप्रसाद ढुंगाना हात र खुट्टामा चोट लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपामा पठाइएको छ।

त्यस्तै, बनेपा–९ की ३२ वर्षीया संगीता आचार्य दाहिने खुट्टामा सामान्य चोट लागेपछि पाँगु भुगदेउ स्वास्थ्य चौकी हुँदै थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको छ।

संगीताकी एक वर्षीया छोरी सरगम तिमल्सिनाको टाउकोको बायाँ भागमा सामान्य चोट लागेको छ।  उनलाई पनि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका सहचालक चेतबहादुर लामा, अञ्जना बोलाखे र कोपिला तिमल्सिना भने सकुशल रहेको र उनीहरू घर फर्किएको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्