
रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा व्यावसायिक घरना भाटभटेनीको लगानी भित्रिएको छ ।
भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङ तथा उमेश श्रेष्ठसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । जसका लागि बुधबार भूमिपुजन तथा शिल्यान्स गरिएको छ ।
भैरहवा सेजभित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको बुधबार भूमिपुजन गर्दै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिनका लागि उद्योग स्थापना गर्न लागिएको जानकारी दिए । ९ महिनाभित्र उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने तयारीसहित काम शुरू गरिएको उनले बताए ।
नेपाली बजारका साथै युरोपेली मुलुक तथा अमेरिकामा तयारी पोशाक निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गर्न लागिएको अध्यक्ष गुरुङ बताउँछन् । उद्योग स्थापना भई सञ्चालनमा आउँदा १ हजार २ सय बढीले रोजगार प्राप्त गर्ने बताउँदै उनले त्यसमा ९८ प्रतिशत बढी स्थानीय तथा नेपाली श्रमिक रहने उल्लेख गरे ।
उद्योग निर्माणको कामसँगै त्यहाँ आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा प्रशिक्षणको काम समेत एकसाथ सञ्चालन भइरहेको जानकारी गराउँदै उनले नेपाली अर्थतन्त्रमा सानै भएपनि योगदान गर्न सकिने अपेक्षा व्यक्त गरे ।
यस उद्योगबाट उत्पादित कपडाहरू भाटभटेनीका स्टोरमा पनि पाइने र स्थानीय बजारमा पनि पुर्याउने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताए ।
‘हामीले भाटभटेनीमा आफ्नै उत्पादन बिक्रीको लक्ष्य राखेका छौं, स्थानीय बजारमा पनि पठाउँछौं’, उनले भने, ‘कम्पनी सञ्चालनमा आउनुअघि विश्वका ठूला यस्ता कम्पनीबाट विज्ञलाई ल्याएर यहाँ तालिमको व्यवस्था गर्दैछौ| ।’
सेजभित्र स्थापना गर्न लागिएको गार्मेन्ट उद्योगको समूहमा व्यवसायी उमेश श्रेष्ठ, रामकृष्ण खतिवडा, किरण श्रेष्ठलगायत पनि रहेका छन् । सेजभित्र स्थापना हुने उद्योगलाई सरकारले विशेष सुविधा उपलब्ध गराएको बताउँदै अध्यक्ष गुरुङले लगानीको वातावरण विस्तारै बन्दै गएको उल्लेख गरे ।
भैरहवा सेजभित्र भाटभटेनीको लगानी भित्रिनु यहाँका व्यवसायीहरूका लागि पनि उत्साहको विषय भएको भैरहवा सेज कार्यालयका सहायक निर्देशक सपुत डुम्रेले बताए । यहाँ हाल १३ वटा उद्योगमध्ये ११ वटा उद्योग सञ्चालनमा छन् भने २ वटा बन्द छन् ।
आगामी ६ महिनाभित्र थप उद्योग पनि सञ्चालनको तयारीमा रहेको डुम्रेले जानकारी दिए । सेजभित्र ६८ वटा प्लट रहेका छन् ।
देशभरका मुख्य शहरमा भाटभटेनीका २८ वटा सुपरस्टोर सञ्चालनमा छन् ।