१० साउन २०८३, आइतबार
नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

मुस्लिम बहुल राष्ट्रहरू फेरि ट्रम्पको निशानामा, १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

जेठ २२, २०८२
काठमाडौं
मुस्लिम बहुल राष्ट्रहरू फेरि ट्रम्पको निशानामा, १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागू हुने फक्स न्युजले जनाएको छ । 

सुरक्षा जोखिमलाई कारण देखाउँदै ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

यसैगरी बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रूपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

यद्यपि, अमेरिकी ग्रिनकार्ड भएका व्यक्ति, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्ति, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइने सीएनएनको समाचारमा उल्लेख छ ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार कोलोराडोको बोल्डरमा भएको यहूदी विरोधी आक्रमणपछि राष्ट्रपतिले यो घोषणामा हस्ताक्षर गरेका हुन् । उनी पहिले नै यसबारे विचार गरिरहेका थिए, तर आइतबारको आक्रमणले यसलाई छिटो गतिमा ल्याएको समाचारमा उल्लेख छ ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सात बहुसंख्यक मुस्लिम राष्ट्रहरूका यात्रुहरूलाई अमेरिका आउनबाट रोक लगाएका थिए, जुन नीतिलाई अदालतले चुनौती दिएको थियो र राष्ट्रपति जो बाइडेनले २०२१ मा पदभार ग्रहण गर्दा यसलाई खारेज गरेका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्