०८ असार २०८३, सोमबार

उमागौरी सहकारी ठगी प्रकरण : मुद्दाको पेशी चौथो पटक स्थगित

जेठ २२, २०८२
विराटनगर
उमागौरी सहकारी ठगी प्रकरण : मुद्दाको पेशी चौथो पटक स्थगित

संघीय संसद्को लेखा समिति सभापति एवं एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको मोरङको उमागौरी सहकारी ठगी प्रकरणको मुद्दाको पेशी चौथो पनि पटक स्थगित भएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासमा बिहीबार तोकिएको पेशी प्रतिवादीका कानून व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो । यसअघि तीन पटक यो मुद्दाको पेशी सरेको थियो ।

पहिले उच्च अदालतका कार्यवाहक मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा दुई पटक पेशी तोकिएको थियो । प्रतिवादीका कानून व्यवसायीले निवेदन दिएपछि ती पेशीहरू स्थगित भएका थिए । मोरङ जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिलको कार्यालयले अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने माग राख्दै निवेदन दिएको थियो ।  

वैशाख ११ मा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको राय बाझिएको थियो । अञ्जलासहित ६ प्रतिवादीको हकमा दुवै न्यायाधीशबीच धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा राय बाझिएको थियो । 

न्यायाधीश बास्तोलाले प्रतिवादीमध्ये रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी तथा मनोजकुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गर्ने राय पेश गरेका थिए ।

तर, न्यायाधीश पुडासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गरेकी छिन् । जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतिलाई ५ लाख, लक्ष्मीदेवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिनागरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको छ ।

गत मंसिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । 

सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी पूर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य धरौटीमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार छन् ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य थिए । शेयरबापत ३ करोड ८ लाख ९० हजार रुपैयाँ रकम रहेको थियो ।  सहकारीमा ७ सय ७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द छ ।

salt training

कमेन्ट गर्नुहोस्