
सप्तरीमा बिहीबार दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखक शुक्रबार सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल मुख्यालय हलचोक पुगेका छन् ।
उनलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराएका छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले बिहीबारको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा कामकारबाहीबारे विस्तृत जानकारी गराए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए ।
गृहमन्त्री लेखकसँगै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, निमित्त गृह सचिव जयनारायण आचार्य, सह-सचिव रामचन्द्र तिवारीलगायत गृह मन्त्रालयका पदाधिकारीहरू समेत एपीएफ मुख्यालय पुगेका थिए ।
गृहमन्त्री लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बीमाबारे मन्त्रालयले थप काम गर्ने बताए ।
अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको उनले बताए ।